निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता

तु खबर संवाददाता
२०७८ मंसिर ६, सोमबार १७:५१

मकवानपुर । निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता भएको छ । निर्वाचन आयोगको २०७८ कार्तिक २९ गते बसेको बैठकले नेपाल विवेकशील पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टीलाई प्रमाणपत्र भने मंसिर ३ गते दिइएको छ । अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ ।

दलका संघीय पदाधिकारीहरूमा कर्मा लामा तामाङ – अध्यक्ष, अजीता राई – उपाध्यक्ष, छिरीङ तामाङ – नीति, अनुसन्धान तथा विश्लेषण, संगीता बाटाजु – सचिव, प्रशिक्षण, शशि विक्रम कार्की – सचिव, अभियान र सञ्जाल, विजय बाबु शिवाकोटी -प्रवक्ता रहेका छन् । संघीय समितिका सदस्यहरूमा विशाल बिक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरन साह, सन्तोष घिमिरे, जमाल अली, मोहना मोथे खनाल, अन्जन निरौला, सुनीता बाटाजु, समिर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ रहेका छन् ।
पार्टीको राजनीतिक दर्शन रूपान्तरणकारी मार्ग भने सामाजिक दर्शन मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान रहने र आर्थिक दर्शनको रूपमा समन्वयनकारी पुँजीवाद रहने जनाइएको छ ।

दलको राजनीतिक प्रस्थान विन्दु सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता हुनेछ भने दलका सदस्यहरूलाई व्यक्तिगत रुपमा बाटो देखाउने मूल्य मान्यताहरूमा निष्ठा, पारदर्शिता, साहस, समानुभूति, विनम्रता, उत्कृष्टता हुनेछन् र दललाई संस्थागत रुपमा चुस्त बनाउने मूल्य(मान्यताहरुमा जवाफदेहीता, कार्य कौशलता, ‘ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभाव’ विरुद्ध शून्य सहनशीलता, समावेशीता, सुयोग्यता, आन्तरिक सहभागितामूलक लोकतन्त्र रहने पार्टीले जनाएको छ ।

विवेकशील आन्दोलनलाई जोगाएर समय सापेक्ष सुधार गर्दै अगाडि बढाउन यस दल प्रतिबद्ध रहेको दलको भनाइ छ । छ । २०७७ सालमा तत्कालीन विवेकशील नेपाली र साझा पार्टीबिच भएको एकीकरणमा सहभागी नभई छुट्टै रूपमा राजनीतिक तथा सांगठनिक गतिविधि गर्दै आएको पार्टी प्रवक्ता विजय बाबु शिवाकोटीले जानकारी दिए ।