विवेकशील साझा पार्टीद्वारा बागमती प्रदेशसभाको बैठक तत्काल बोलाउन माग

तु खबर संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार ०९:०७

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेशसभा संसदीय दलले प्रदेशसभाको सातौँ अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो बुधबारको लागि तय भएको बैठक विहानै ६ः३५ बजे हठात् ढङ्गले स्थगित गरिएको भन्दै विकेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौडेलले आपत्ती जनाएका छन् ।

प्रदेश सभा बैठक स्थगित गरेपछि प्रदेश सभामार्फत् नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेशसभा सदस्यहरूले नपाएको उनको भनाई
छ ।

सत्ताधारी नेकपाभित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदा गराएको पौडेलको दावी छ ।

बिगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएको भएपनि हाल आएर सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको यो स्थगन अस्वाभाविक भएको नेता पौडेलको भनाई छ ।

गएको पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुलसमेत भइसकेको सन्दर्भमा ढिला नगरी उक्त विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार रहेको उनले बताए ।

मुख्यमन्त्री डोरमणि पौडेलले सभामुख सानुकुमार श्रेष्ठमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोजेको भन्दै यस्ता गतिविधिप्रति आफुहरुको विरोध रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*