नेपाल विवेकशील पार्टीद्वारा कार्कीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
मकवानपुर । नेपाल विवेकशील पार्टीका अभियान तथा सञ्जाल सचिव शशिबिक्रम कार्कीमाथि अज्ञात समूहबाट भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषिउपर कारबाहीको माग गरिएको छ । बुधबार नेपाल विवेकशील पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै कार्कीमाथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाहीको दायरमा ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘न्याय, स्वतन्त्रता तथा समानताको पक्षमा विभिन्न सामाजिक तथा राजनीतिक अभियानहरू र आफ्ना विचारहरू मार्फत आवाज बुलन्द पार्ने शशिबिक्रमको विचारलाई बन्द गर्न आक्रमण गरिएको हुन सक्ने भएकाले त्यस्ता प्रयासहरूको हामी डटेर सामना गर्छौँ भन्ने प्रस्ट पार्न चाहन्छौँ ।’
‘केही दिन मात्रै कार्की कार्यरत रहेको कार्यालयमा एक जना अपरिचित व्यक्तिले फोन गरी कार्यालयबाट निस्कने समय सोधेको, केही दिन अगाडि तिन जना व्यक्तिहरूले आज आक्रमण भएको ठाउँ नजिक नै लुटपाट र आक्रमणको प्रयास गरेको तथ्यलाई मध्यनजर गर्दा यो सुनियोजित घटना हो भन्ने हामीलाई आशंका छ ।’ विज्ञप्तिमा भनिएको छ ।
कार्कीमाथि आज बिहान भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्वर ४ स्थित आफ्नो घर नजिकै आक्रमण भएको थियो । घरबाट साइकल चढेर काममा जाँदै गर्दा उनलाई ३ जना अपरिचित व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विवेकशील पार्टीले कार्कीको पूर्ण सुरक्षाको प्रत्याभूति गराउन र उनीमाथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ ।

