गुम्बा पुनःनिर्माण सुरु

रासस
२०७८ कार्तिक २३, मंगलवार १३:४४

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ‘लो गेकर’ गुम्बाको पुनःनिर्माण सुरु भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक ‘लो गेखर’ गुम्बाको पुनःनिर्माण सुरु भएको हो । अमेरिकी दूतावासले गुम्बा पुनःनिर्माणका लागि दुई लाख ८५ हजार अमेरिकी डलर खर्च गर्ने जनाएको छ । अमेरिकाको सांस्कृतिक संरक्षण कोषको अनुदान सहयोगमा गुम्बा पुनःनिर्माण गर्न लागिएको दूताबासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशसभा सदस्य महेन्द्र थकाली, दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ सोम्फेल विष्ट र अमेरिकी दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले हालै गुम्बा पुनःनिर्माणको सुरुवात गरेका थिए । धार्मिक विधिअनुसार पूजाआजा गरेर पुनःनिर्माण सुरु गरिएको हो । सन् २०२३ मा गुम्बा पुनःनिर्माण गरिसक्ने दूताबासले जनाएको छ ।

‘लो गेखर’ तिब्बती बौद्धमार्गीको सबैभन्दा पुरानोमध्येको एक महत्वपूर्ण गुम्बा हो । पुनःनिर्माणपछि गुम्बाको कलाकृतिको अभिलेख रहने र भविष्यमा धर्मावलम्बी, पर्यटकले सहजरुपमा सो सम्पदाको भ्रमण गर्न सक्नेछन् । बिसं २०७२ को भूकम्पका कारण गुम्बा जीर्ण बनेको थियो । ईस्वी संवत् आठौँ शताब्दीमा बौद्ध धर्मगुरु पद्यसम्भवले भारतबाट तिब्बत् जाने क्रममा राक्षस्नीको बध गरेको ठाउँमा बाधा–अड्चन नहोस् भनेर टुक्र्याइएको शरीरमाथि मुटु राखेर मराङमा गुम्बा बनाएर केही समय त्यही बसेको धार्मिक ग्रन्थमा उल्लेख छ ।