व्यवसायी अजयराज सुमार्गीसहित १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

तु खबर संवाददाता
२०७८ आश्विन १८, सोमबार १२:४५

काठमाडौँ । व्यवसायी अजयराज सुमार्गी पनि अनौपचारिक माध्ययमबाट रकम विदेशमा पुर्याउने, त्यहाँ कम्पनी खडा गर्ने र सोही कम्पनीबाट फेरी प्रत्यक्ष बैदेशिक लगानी (एफआइडी) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न रहेको खुलासा भएको छ । आइतबार साँझ अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले ट्याक्स हेवम मुलुकमा लगानी गर्नेमा सुमार्गीसहित १६ जना नेपाली रहेको खुलासा गरेको छ ।

खोज पत्रकारिता केन्द्रले प्रकाशन गरेको समाचारमा उल्लेख भए अनुसार यो अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत गरिएको हो । विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुन नपर्ने ) देशमा पु–याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेको विषयमा खुलासा भएको हो ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका व्यवसायी सुमार्गीसहित १६ जना नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे प्यान्डोरा पेपर्समार्फत खुलासा गरिएको हो । यसअघि पनि सुमार्गीको बारेमा खोज पत्रकारिता केन्द्रले आईसीआईजेसंगको सहकार्यमा २०७५ माघ २ मा शंकास्पद धनको ओसारपसार सम्बन्धी खुलासा गरेको थियो ।

खोज पत्रकारिता केन्द्रले प्रकाशन गरेको समाचार अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेष्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको खुलासा भएको छ । उनी सन् २०१० मा ब्रिटिश भर्जिन आइल्याण्डमा खोलिएको जोधार इन्भेष्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । कम्पनीमा उनको भूमिका निर्देशकको रुपमा रहेको छ ।

सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीको तर्फबाट आफ्नै हस्ताक्षर चल्ने गरी बैंक खातासमेत खोलेका छन् । सो बैंकमा खाता खोल्दा काठमाडौँको बानेश्वर निबासी उनले आफ्नो ठेगाना बेलायत भएको उल्लेख गरेका छन् । सुमार्गीसँगै यो कम्पनीका ‘लाभार्थी मालिक’ साइप्रसका वकिल तथा उनका बिजनेस पार्टनर सोटिरिओस् पिट्टास पनि रहेको भेटिएको छ ।

जोधारको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड र अन्य तीन जना साइप्रसका नागरिक छन् । जोधारमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण शेयर लगानी गरेर फोनफाइडर सर्भिस लिमिटेड सन् २०१० मा साधारण शेयर सदस्यका रूपमा भित्रिएको थाहा भएको छ । प्यान्डोरा पेपर्सका अनुसार सुमार्गीले यसबाहेक ९ सेप्टेम्बर २०११ मा ब्रिटिश भर्जिन आइल्याण्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको फेला परेको छ ।

उनले ब्रिटिश भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेशनल लिमिटेडमा पनि लगानी गरेका छन् । सन् २००८ मा कम्पनी खोलेर ब्रिटिश भर्जिन आइल्याण्डको अस्मिताज् वल्र्ड लिमिटेडमार्फत पनि लगानी गरेको थाहा भएको छ । अस्मिता वल्र्ड लिमिटेडको सञ्चालक सुमार्गी आफैँ हुन् । आईसीआईजेबाट प्राप्त कागजात अनुसार सन् २००८ मा उक्त कम्पनीमा लगानी गरेका सुमार्गी कम्पनीका लाभार्थी मालिक, शेयर लगानीकर्ता र निर्देशक हुन् । उनले यो कम्पनीको १०० कित्ता शेयर खरीद गरेका थिए । कम्पनीको सम्पत्तिको स्रोतहरू हेटौंडा लाइम इण्डष्ट्री प्रा.लि, एभरेष्ट मिनरल प्रडक्ट्स प्रा.लि, मुक्तिश्री प्रा.लि भएको कागजातहरूले देखाएको छ ।

अजयराज सुमार्गीको ब्रिटिश भर्जिन आइल्याण्डकै ‘द न्यू डिजिटेक इन्टरनेशनल’ लिमिटेडमा पनि एक डलरका दरले १०० कित्ता शेयर लगानी रहेको देखिन्छ । उनी यो कम्पनीका निर्देशक हुन् । कम्पनीको शेयर होल्डर अस्मिताज् वल्र्ड लिमिटेड पनि हो । कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिश भर्जिन आइल्याण्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यू डिजिटेक इन्टरनेशनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिश पाउण्ड विदेशी लगानी (एफडीआई) नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै खुलासा भइसकेको थियो ।

विदेशमा गैरकानूनी रुपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाकोसमेत उल्लंघन गरेका छन् । कम्पनी दर्ता गरिदिने ‘ल फर्म’ले जोधार इन्भेष्टमेन्ट लिमिटेडले सुमार्गीको हाल बस्दै आएको ठेगाना, कम्पनीको उद्देश्य, कम्पनीले व्यापार तथा कारोबार गर्ने ठेगाना, कम्पनीको बैंक खाता सम्बन्धी विवरण नबुझाएको भनेर उनीमाथि कारबाहीको चेतावनीसमेत दिएको छ ।

ब्रिटिश भर्जिन आइल्याण्डस्थित ल फर्म कम्पनी ट्राइडेन्ट ट्रष्ट लिमिटेडका कम्प्लायन्स एण्ड मनी लाउन्डरिङ रिपोर्टिङ अफिसरले ८ फेब्रुअरी २०१८ मा सुमार्गीको कम्पनीको कानूनी एजेन्टलाई इमेल लेखेर ९ फेब्रुअरी भित्र आवश्यक सबै काजगात बुझाउन र त्यसो नगरे कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको प्यान्डोरा पेपर्सको विवरणमा उल्लेख भएको खोज पत्रकारिता केन्द्रले समाचारमा लेखेको छ । सुमार्गीको आफन्त अर्जुन शर्मा लगायतकाको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ ।

त्यसैगरी नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेका छन् । चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता रहेको थाहा भएको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकार सहभागी भई १७ असोज, आइतबार राति सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामक कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छन् ।

गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी छ । ‘फ्ल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ ।

त्यस्तै ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो ।

हङकङको युनाइटेड ओभरसिज् ब्यांक लिमिटेडमा रहेको कर्ण इन्भेष्टमेन्ट लिमिटेडको खातामा भएको विवरण अनुसार ३१ जनवरी २०१९ सम्ममा कम्पनीको खातामा २ लाख ४८ हजार ६३१.५९ अमेरिकी डलर जम्मा भएको देखिन्छ । यो मितिसम्ममा कम्पनीको खाताबाट उक्त रकममध्ये ३५ हजार ९८२.३ अमेरिकी डलर निकालेको देखिन्छ । यसबाहेक किशोरको व्यक्तिगत ब्यांक खातामा पनि रकम जम्मा भएको खोप पत्रकारिता केन्द्रले पत्ता लगाएको छ ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोर रानाका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उनको क्यास, सजिलै क्यासमा रूपान्तरण गर्न सकिने वस्तु (जस्तै सुन वा चाँदी) र अन्य विभिन्न स्रोत बापत गरी कुल झण्डै दुई लाख अमेरिकी डलर बराबरको रकम थियो । नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ ।

अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई मात्र समृद्ध बनाउने जानकारहरु बताउँछन् । आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेकोसमेत खुलासा गरेको छ ।