एमालेको आधिकारिक लोगो फेरियो
काठमाडौं । नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो । उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् ।
एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन् । नेकपा एमाले पदाधिकारी संख्या १५ हुने भएको छ । उपमहासचिव पौडेलले उठेको प्रश्नको जवाफ दिँदै सो कुराको जानकारी दिएका हुन् । पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर, समूहगत छलफलपछि जवाफ दिने क्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने जानकारी दिँदै अब एमाले पदाधिकारी संख्या १५ हुने बताएका हुन् ।
जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना रहनेछ । विशेष महाधिवेशनमा कोषाध्यक्ष राख्नुपर्ने माग पनि उठेको थियो । तर, उपमहासचिव पौडेलले यो आवश्यक नपर्ने बताए । ‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन सजिलो हुँदैन, मैले १३ जनाको पदाधिकारी प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँदा व्यवस्थापन गर्न सजिलो हुँदैन, त्यसैले मैले १५ सदस्यीय प्रस्ताव गरेको छु’, पौडेलले उठेका प्रश्नको जवाफ दिँदै भने ।
