संखुवासभा सामुहिक हत्याकाण्डको रहस्य खुल्यो
काठमाडौँं । संखुवासभाको मादी नगरपालिका वडा नं १ स्थित एकै परिवारको ६ जनाको हत्यामा मृतकको भतिजाको संलग्नता रहेको प्रहरीको निश्कर्ष छ ।
मृतक परिवारको नाता भित्रै पर्ने छिमेकी समेत रहेका २६ बर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की (१३ दिनभित्रका) काका भतिज भएको बुझिएको छ ।
लोकबहादुरले ६ जनाकै हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको र यो घटना आवेश प्रेरित कि मनासाय प्रेरित हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्याको अनुसन्धान गरेका थिए ।
हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् ।
तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । तेजबहादुरको हेप्ने प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।
आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले आधिकारिक रुपमा भने आइतबार सार्वजनिक गर्दैछ ।
