संखुवासभा हत्या प्रकरण – भतिजा लोकबहादुरले यसरी गरेका रहेछन् हत्या
संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्याका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनी मृतक तेजबहादुर कार्कीको (१३ दिन भित्रकै) भतिजा हुन् ।
सो घटनालाई लिएर प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको थियो । तर, घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भएकाले लुटपाटका लागि हत्या भएको पाइएन भने बाहिरबाट आएर घटना गराएको पनि नदेखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका लोकबहादुरले ६ जनाकै हत्या आफैँले गरेको स्वीकार गरेका छन् ।
लोकबहादुरले बताएअनुसार उनी वैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो पटक विरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएका थिए । उनले औषधि समेत खाइरहेका थिए ।
लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजुभाइ थिए । लोकबहादुरका हजुरबुवाले आफ्नो मृत्यु हुने क्रममा तेजबहादुरलाई आफ्ना छोराहरुको पनि रेखदेख गर्न आग्रह गरेका थिए । परिवारको हर्ताकर्ता तेजबहादुर बेलाबेला उनीहरुको घरमा जाने र सम्झाउने गर्थे ।
लोकबहादुर आक्रमण र झैझगडा गर्ने स्वभावका थिए । अरूले भनेको नमान्ने, अल्छी स्वभावका भएकाले तेजबहादुरले बेलाबेला गाली गर्थे । काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गरेर गरेको गाली लोकबहादुरको मनमा गढेको पाइएको प्रहरीको भनाई छ ।
घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि र बोलाउन गएका थिए । बाबु र भाइ घाँसका काट्न गएका थिए भने लोकबहादुर घरमै थिए ।
बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोश समेत भएकाले उनले तेजबहादुरलाई पछ्याउँदै गए । गोगनको रुख भएको स्थानमा पुगेपछि उनले टाउकोमा चिर्पटले हानेको पाइएको छ ।
लोकबहादुरको प्रहारपछि तेजबहादुर चिच्याए । उनको आवाज सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलमा आए ।
प्रमाण नष्ट गर्न उनले काकीमाथि पनि आक्रमण गरे । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् उनी बेहोस् छँदै लोकबहादुरले चिर्पटले हानेर रञ्जनालाई पनि मारे ।
कमला र रञ्जनालाईको हत्या गर्दै गर्दा घटनाका प्रत्येक्षदर्शी नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको खुल्न आएको छ ।
एकै परिवारका ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए र कुँडो पकाइरहेकी हजुरआमाको टाउको भित्तामा बजारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लोकबहादुरले ६ जनाकै हत्या गर्न प्रयोग गरेको चिर्पट उनले चुल्होमा राखेको फेला परेको र उनको घरबाट रगत लतपतिएको कपडासमेत प्रहरीले फेला पारेपछि उनीमाथि प्रहरीले अनुसन्धान कडा बनाएको थियो ।
