संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपी लोकबहादुरका भाई पनि पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार ०९:२३

संखुवासभा । जिल्लाको मादी नगरपालिका वडा नं १ स्थित उम्लिङ्मा ६ जनाको सामूहिक हत्या भएको घटनाका आरोपी २५ बर्षीय लोकबहादुरका भाईलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । आरोपी लोकबहादुरले हत्या आफैँले गरेको स्वीकार गरिसकेको अवस्थामा प्रहरीले उनका भाइलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएपछि घटनामा ट्वीस्ट आएको छ ।

प्रहरीले अनुसन्धानबाट नयाँ तथ्य फेला परेको पनि बताएको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । मृतक ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । प्रहरीले नरेशको साथबाट उक्ते मोबाइल बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए । तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको छ ।

लोकबहादुरले हत्या गर्दै गएको र नरेश पछिपछि गई अन्त्यमा लोकबहादुर ८४ बर्षीया पार्वती कार्कीलाई हत्या गरेर फर्केपछि लुक्दै गएका नरेशले रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लोकबहादुरले तेजबहादुर कार्कीलाई मात्रै मार्न चाहेको र प्रमाण मेटाउन अरुको पनि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । लोकबहादुर मानशीक रोगी भएको र औषधी सेवन गरिरहेको पनि प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।