संखुवासभा सामूहिक हत्याकाण्ड, मृतकका भतिजो पर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र २६, शनिबार ११:४६
file-photo

काठमाडौँ । संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । प्रहरीले सोही गाउँका २६ बर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

मृतकका नातामा भतिजो पर्ने ती युवकलाई प्रहरीले ६ जनाको हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरेको हो ।

प्रहरीले ती युवकलाई आइतबार सार्वजनिक गर्दै छ । पक्राउ परेका युवकको मानसिक अवस्था ठिक नभएको र केही समयदेखि औषधि खाइरहेको पनि प्रहरीले जनाएको छ ।

हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ । हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।

गत सोमबार मादी नगरपालिका–१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।