जनप्रतिनिधिबाटै म जोखिममा छु, ज्यान जोगाइदिनुस् – मनिला विष्ट, उपाध्यक्ष मनहरी गाउँपालिका

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १९:५७

मकवानपुर । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्यबाट आफु असुरक्षित रहेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरेकी छिन् ।

शनिवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले आफुमाथि कार्यपालिकाका केही सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरिन् ।

उनले भनिन् ‘२०७७ फाल्गुन ५ गते उच्च अदालतको फैसलापछि मेरो बिरुद्धमा धेरै अमानवीय व्यवहार हुर्दै आएको छ । उहाँहरुवाट मेरो चियोचर्चा र अपशब्दहरुसमेत धेरै खेप्दै आएकी छु । मेरो जिम्मेवारी धेरै वटा छन् , म हरेक ठाँउमा असुरक्षित छु । पाइला पाइलामा जोखिम देखिरहेकी छु । आगामी दिनमा म माथि जुनसुकै घटना घट्ने संकेत उहाँहरुले गरिरहनुभएको छ । म यसै पत्रकार सम्मेलनबाट ज्यान सुरक्षाको लागि अपिल गर्न चाहन्छु ।’

उनले आफुमाथि कार्यपालिका बैठकमा नै केही कार्यपालिका सदस्य र जनप्रतिनिधिले अश्लिल शब्दमा धम्क्याउने, ठेगान लगाइदिन्छु भन्ने जस्ता अमानवीय व्यवहार गरेको गुनासो गरिन् ।

उनले आफुमाथि विगत २ वर्षदेखि श्रृंखलाबद्ध रुपमा गाउँपालिकाका केही जनप्रतिनिधि र २ जना कर्मचारी प्रयोग गरी आफुमाथि अमानवीय व्यवहार हुदै आएको बताइन् ।

उनले भनिन् ‘पटकपटकको घटनामा उही जनप्रतिनिधि, उही कर्मचारी, उही पत्रकार मेरो व्यक्तिगत जीवन र पदीय मर्यादामा ठेस पुर्याउन लागिरहेका छन्, मेरो चरित्रहत्या हुने खालको व्यवहार समाजिक सञ्जाल, सार्वजनिक स्थल र प्रत्येक्ष भेटघाटमा समेत हुने गरेको छ । मेरो जिम्मेवारीमा बाधा पुर्याइँदै आएको छ ।’

उनले अघि भनिन् ‘म माथि चरणबद्ध रुपमा कार्यापालिकाको बैठक, खाजा खाने होटल, सार्वजनिक ठाँउहरुमा अमानवीय शब्दहरु प्रयोग गर्ने, गाली बेइज्जती गर्ने देखि लिएर गाउपालिकामा कार्यरत आन्तरिक लेखा परिक्षक कर्मचारीलाई होटलमा बोलाई जातीय विभेद शब्द प्रयोग गरी वोत्तल उठाएर प्रहार गर्ने र गाउँपालिकाकै बार्षिक समिक्षा कार्यक्रममा समेत वडा नं। ५ का महिला सदस्य पम्फा रोक्काले सबै जनप्रतिनिधि कर्मचारीकै बीचमा तँ बानी सुधार, नत्र दुर्घटना हुन सक्छ’ भन्ने चेतावनी दिएर त्यहि आक्रमण गर्न खोजेको गुनासो गरिन् । ’

सेफ हाउस संचालनको सन्दर्भसंग जोडेर गाउँपालिकाकै जनप्रतिनिधिले भ्रामक समाचार सम्प्रेषण गर्न लगाएको पनि उनको गुनासो थियो ।

न्यायिक इजलास चलाउने ठाँउमा समेत स्टोर भण्डारण गरेर अवरोध गरिएको उनको दुखेसो छ ।