एकराज उप्रेतीले सुरु गरे घरदैलो अभियान
मकवानपुर । नेकपा एमाले मनहरी गाउँकमिटीले आजबाट चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियान सुरु गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडाका विभिन्न पदमा उम्मेदवारी दिएकाहरु आजबाट घरदैलो अभियानमा जुटेका छन् ।
वडा नम्वर ६ स्थित लोथर भन्ने ठाउँबाट अभियान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिए । उनले भोलिबाट अभियानलाई निरन्तरता दिइने बताए । ‘हामी आम जनताको घरदैलोमै पुगेर जनतासँग साक्षात्कार गरिरहेका छौँ । यसअघिको कार्यकालमा आफुले गरेका कामको जनताले कसरी मुल्यांकन गरेका छन्, अब सुधार्नुपर्ने पक्ष केही छन् कि उहाँहरुसँग सुझावहरु ग्रहण गरिरहेका छौँ । जनताको सुझाव संकलन गरी गाउँपालिकालाई समृद्ध बनाउन र जनहितका काम गर्न आवश्यक योजना तय गर्नेछु ।’ उनले भने ।
उनले आफुले यसअघि पनि अध्यक्ष पदमा रहेर जनहितका थुप्रै काम गरेको र बाँकी काम पुरा गर्न एकपटक पुनः जनताकै आकाँक्षा अनुसार उम्मेदवार भएको बताए । घरदैलो अभियानमा एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदी, जिल्ला युवा सचिवालय सदस्य ठाकुर घिसिङ उपाध्यक्ष पदकी उम्मेदवार सुजिता थिङलगायत सहभागि थिए ।
