उपाध्यक्षज्यूलाई हाम्रो कारणले असुरक्षा छैन, यतिसम्म गिर्नुहुन्छ भन्ने लागेको थिएन– अध्यक्ष उप्रेती

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार १३:५६

मकवानपुर । गएको भदौ ५ गते मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार सम्मेलन गर्दै आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि जनप्रतिनिधि र राजनीतिक बृत्तमा एक किसिमको तरङ्ग नै पैदा भयो ।

आफुमाथि कार्यपालिकाका सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै उनले ज्यान जोगाइदिन अपिल गरेकी
थिइन् ।

गाउँपालिका उपाध्यक्षले नै आफ्नो ज्यान धरापमा पर्यो, बचाइदिनुस् भन्दै अपिल गरेको सूचना बाहिरिएपछि यसले पत्रकार जगत, नागरिक समाज, मानव अधिकारवादी, प्रहरी प्रशासन र आम मकवानपुरवासीको ध्यान खिच्यो ।

एउटै चुनाव चिन्ह ‘सुर्य’ बाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीबाट उपाध्यक्ष विष्ट असुरक्षित भइन रे भन्ने सुनेपछि मनहरीवासीमा केही त्रास र धेरै जिज्ञासा पनि थपियो ।

उनले पत्रकार सम्मेलनमा भनेकी थिइन् ‘२०७७ फागुन ५ गते उच्च अदालतको फैसलापछि मेरो विरुद्धमा धेरै अमानवीय व्यवहार हुँदै आएको छ । उहाँहरुबाट मेरो चियोचर्चा र अपशब्दहरुसमेत खेप्दै आएकी छु । मेरो जिम्मेवारी धेरै वटा छन्, म हेरेक ठाउँमा असुरक्षित छु । पाइला पाइलामा जोखिम देखिरहेको छु । आगामी दिनमा म माथि जुनसुकै घटना घट्ने संकेत उहाँहरुले गरिरहनुभएको छ । यसै पत्रकार सम्मेलनबाट ज्यान सुरक्षाको लागि अपिल गर्न चाहान्छु ।’

त्यतिमात्रै होइन, उनले कार्यपालिका बैठकमा नै केही कार्यपालिका सदस्य र जनप्रतिनिधिले अश्लिल शब्दमा आफुलाई धम्क्याउने, ठेगान लगाइदिन्छु भन्नेजस्तो अमानवीय व्यवहार गरेकोसमेत गुनासो गरेकी थिइन् ।

गाउँपालिका अध्यक्षले केही जनप्रतिनिधि र २ जना कर्मचारी प्रयोग गरेर आफुमाथि अमानवीय व्यवहार गर्दै आएको पनि उनले भनेकी थिइन् । अध्यक्ष उप्रेती र कार्यपालिका सदस्यप्रति उनको कार्यपालिका संचालनको सन्दर्भमा पनि गुनासो थियो । तर, ज्यानको सुरक्षा गरिदिन उनले अपिल गरेको विषयले भने बढी चर्चा बटुल्यो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सोमबार मनहरीमा पत्रकार सम्मेलन नै गरेर आफुबाट उपाध्यक्षलाई कुनै असुरक्षा नभएको दावी गरेका छन् ।
अध्यक्ष उप्रतीले कार्यपालिका सदस्यसमेतको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले गाउँपालिकाकै जनप्रतिनिधि र कार्यपालिका सदस्यबाट असुरक्षित रहेको भन्दै आफुहरुमाथि गम्भीर आरोप लगाएको भएपनि त्यसमा सत्यता नभएको बताए ।

उपाध्यक्ष विष्टले विगतदेखि नै गाउँपालिकाको नीति र विधिविरुद्ध रहेर कार्यपालिका बैठकमा सँधै अवरोध गर्ने, कर्मचारीलाई सिस्टम मिचेर काम गर्न दबाब दिने गरेको अध्यक्ष उप्रतीले बताए ।

‘सिस्टमविरुद्ध काम गर भनेर कर्मचारीलाई दबाब दिने अनि यसरी त मिल्दैन नी हजुर भन्यो भने कर्मचारीलाई तेरो नाक भाँच्दिन्छु, हात तोड्दििन्छु भन्नुहुन्छ उहाँ ।’ अध्यक्ष उप्रतीले भने ।

उनले अघि भने, ‘मैले उहाँलाई हामी मिलेर काम गरौँ, सिस्टममा काम गरौँ, केही समस्या भए भन्नुस् समाधान गरेर अघि बढौँ, आखिर अब कति समय बाँकी छ र, जति समय छ मनहरीवासीको हितमा काम गरौँ भन्ने गरेको छु । तर, उहाँ कहिले राजीनामा दिनुहुन्छ । अनि फेरी आफैँ मैले राजनीनामा दिएकै छैन भन्दै अदालत जानुहुन्छ । सम्माननीय अदालतले उहाँलाई पुनः जिम्मेवारीमा फर्काइदिएको छ । हामीले अदालतको आदेश सम्मानका साथ मानेका छौँ । अब त सुध्रनुहोला नी, अब त मिलेर काम गर्न पाइएला नी भन्यो । फेरी, अब त ज्यान नै मार्न लाग्यो भनेर भन्नुभएछ ।’

‘हामीले पहल गरेर केन्द्रबाट एउटा राम्रो गाडि ल्याएका थियौँ, तपाई चढ्नुस् भनेर अनुरोध गर्यौँ । म मागेर ल्याएको गाडि चढ्दििन भन्नुहुन्छ । पैसा छुट्याएर नयाँ गाडि किनिदेउ भन्नुहुन्छ । ए बाबा, पदमुक्त भएपछि हामी फेरी हात्तीछाप चप्पलमै त फर्कने हो नी जनताले जिताएर पठाएका छन् भन्दैमा अनावश्यक खर्च गर्न जरुरी छैननी ।’ उनले भने ।

अध्यक्ष र उपाध्यक्ष सुर्य चिन्हबाटै निर्वाचित भएको भएपनि नेकपा विभाजनपछि बढेको विवादका कारण विष्टले उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । सो राजीनामा गाउँपालिकाले स्वीकृत समेत गरिसकेको थियो । पछि उच्च अदालत पाटन हेटौंडा इजलाशले विष्टको पक्षमा फैसला गरेपछि उपाध्यक्षको जिम्मेवारी पुनः विष्टले नै सम्हाल्दै आएकी छिन् ।

उपाध्यक्ष विष्टलाई स्पष्टिकरण सोध्छौँ – अध्यक्ष उप्रेती

गाउँपालिकाले संचालन गरेको सुरक्षित आवास गृह सेफ हाउसमा पीडित व्यक्तिहरु भन्दै महिला र पुरुष संगै राखेको आरोप उपाध्यक्ष विष्टमाथि छ ।

गाउँपालिकाले उपाध्यक्ष विष्टलाई संयोजकको अनुमति बिना सेफ हाउसको ताला किन तोड्नुभएको र गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिका सदस्यबाट के कारणले ज्यान असुरक्षित भएको हो भनी स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

गाउँपालिकाले विष्टको राजीनामा प्रकरणपछि कार्यपालिका सदस्य पम्फा रोक्कालाई उक्त सेफ हाउसको संयोजकको जिम्मेवारी सुम्पिएको थियो । तर, उपाध्यक्ष विष्टले शुक्रबार सेफ हाउसको ताला तोडेकी थिइन् ।

उपाध्यक्ष विष्टले आफुलाई खबर नगरी पीडित भन्दै महिला र पुरुषलाई एउटै कोठामा राखेको संयोजक रोक्काले बताइन् ।

उपाध्यक्षज्यूले चेतन थापा, आशीष आचार्य, स्नेहा शर्मा र आरती शर्मा ४ जनालाई एउटै कोठामा राख्नुभयो । उनीहरुको कहाँ इन्ट्री भयो । कसले रेफर गरेर पठाएको भन्ने समेत खुलेको छैन । संयोगक रोक्काले बताइन् ।

उपाध्यक्ष विष्टले पदको दुरुपयोग गर्दै आफ्नो मान्छेलाई सेफ हाउसमा शुक्रबार साँझदेखि राखेको उनको भनाई छ ।

गाउँपालिकाले सेफ हाउस संचालन गर्न कार्यविधि बनाएको र कार्यविधि अनुसार सेफ हाउसमा बस्न मनहरी गाउँपालिकाभित्रको महिला, जेष्ठ नागरिक, तथा अपाङ्ग हुनुपर्ने प्रावधान रहेपनि बाहिरको मान्छे ल्याएर सेफ हाउसमा राखिएको उनको आरोप छ ।