सबैको साथ सहयोगका कारण न्याय पाएँ – उपाध्यक्ष विष्ट
मकवानपुर । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले सबैको साथ र सहयोगका कारण आफु उपाध्यक्ष पदमा पुर्नबाहाली भएको बताएकी छिन् ।
आफुलाई उपाध्यक्ष पदबाट हटाउन अनेक किसिमको षडयन्त्र र प्रयास गरिएको भएपनि जनताको माया र सबैको साथ सहयोगका कारण न्याय प्राप्त गर्न सफल भएको उनले बताईन् ।
आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले आजैबाट आफ्नो जिम्मेवारीमा फर्किएको बताइन् । उनले आगामी दिनमा जनताकाबीचमा गएर जनहितका काम गर्ने बताइन् ।
उच्च अदालत पाटन हेटौँडा इजलाशले मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन फागुन ५ गते परमादेश जारी गरेको थियो ।
न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुन कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो ।
विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो ।
विष्टको पक्षमा अधिवक्ताहरु शुसिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए ।
विष्टले गएको मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको थियो ।
