सत्ता पक्षको बैठकः तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार ११:४५
file-photo

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तापक्षको बैठकले तत्काल मन्त्रिपरिषद विस्तार गर्ने समझदारी गरेको छ ।

त्यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ ।

प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भएको जनाइएको छ ।

यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने छ ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।