राष्ट्रियसभा उपनिर्वाचनः जोडघटाउमा अल्मलिंदै बादल

बलराम पुडासैनी
२०७८ बैशाख २५, शनिबार ११:३९
तस्वीरः क्रमश रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटा

मकवानपुर । राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा शुक्रबार नेकपा एमालेको तर्फबाट बहालवाला गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारीको मनोनयन दर्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्य बनेका बादल नेकपा एमालेमा प्रवेश गरेपछि उनको पद खोसिएको थियो । यही राष्ट्रियसभा सदस्य रिक्त पदमा नेकपा एमालेले बादललाई नै उम्मेदवार बनाउने निर्णय गर्यो ।

उम्मेदवारी दर्ताको आधाआधि समयसम्म चुनाव लड्न हच्किएका बादल शुक्रबार बिहान बालुवाटारको बैठकपश्चात हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडा आइपुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका बादल नेकपा एमाले भित्रकै आन्तरिक द्वन्दका कारण चुनाव हार्ने देखिएपछि उम्मेदवार बन्न हच्किएका थिए । तर, अन्ततः उनले पार्टी भित्रको सबैको साथ पाउने आशामा उम्मेदवारी दर्ता गराएका छन् ।

घतलाग्दो कुरा के छ भने, बागमती प्रदेशमा स्थानीय तहसहित प्रदेशसभामा समेत नेकपा एमाले स्पष्ट बहुमतमा हुँदाहुँदै पनि बादल उम्मेदवार बन्न डराउनुलाई चासोका साथ हेरिएको छ ।

उम्मेदवारी दर्ता गराउन पालो कुर्दै गृहमन्त्री बादल

बहुमतमा रहेको एमालेका उम्मेदवार बादलको मनमा तब चिस्यो पस्यो, जब एमालेकै माधव–झलनाथ समूह निकट मानिने डा. खिमलाल देवकोटा पनि सोही पदका उम्मेदवार बने ।

बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्वअध्यक्षसमेत रहेका डा. देवकोटालाई एमालेको माधव–झलनाथ समूहसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरु कांग्रेस, जसपा र अन्य साना दलसमेतले समर्थन गरेका छन् ।

बादलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । यता, डा. देवकोटाले भने विपक्षी दलहरुलाई समान हिसाबले मिलाउन सफल भए । उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई प्रस्तावक र कांग्रेसलाई समर्थक बनाए ।

उनले प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले रहने गरी उम्मेदवारी दर्ता गराएका छन् ।

माधव–झलनाथ पक्षका नेता एवम् पूर्वमन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेलसमेतको उपस्थितिमा डा. देवकोटाको उम्मेदवारी दर्ता भएको
थियो ।

माधव–झलनाथ समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउने बेला आएको र डा. देवकोटालाई नै जिताउन निकटका मतदातालाई आग्रह गरिएको बताएकी छिन् ।

रोचक पक्ष त के छ भने, नेतृ शाक्य मुख्यमन्त्री पौडेल नेतृत्वको बागमती प्रदेश संसदीय बोर्डको सदस्य समेत रहेकी छिन् ।

तस्वीरः डा. देवकोटासँग कांग्रेस, माओवादी र एमाले माधव समूहका नेताहरु

बादललाई बहुमतको दभ्भ

उम्मेदवारी दर्तापश्चात प्रतिक्रिया दिँदै गृहमन्त्री बादलले आफूलाई नेकपा एमालेको पूर्ण समर्थन रहेको र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जीत सुनिश्चित रहेको दावी गरे ।

‘पार्टीको स्पष्ट बहुमत छ, सबैको सहयोग पाउँछु । नेतृत्व पनि त्यही गृहकार्यमा छ । मैले जित्ने निश्चित छ, अन्य कुरा भ्रम मात्रै हुन् ।’ बादलको प्रतिक्रिया थियो ।

बादलले कूल ९ हजार ५ सय ६४ मतमध्ये आफूलाई आफ्नो पार्टीको सबै (५ हजार १ सय ३०) मत प्राप्त हुने दावी गरे ।

तर, उनलाई नेकपा एमालेको पूर्ण समर्थन रहने स्थिति नरहेको माधव–झलनाथ निकट नेताहरु बताउँछन् ।

तस्वीर : उम्मेदवारीको मनोनयन दर्ताको दिन हेलिकोप्टरको प्रयोग

यस्तो छ, अंकगणित

मानिलिऊँ, नेकपा एमालेको ओली पक्ष र माधव–झलनाथ पक्षले बादललाई नै सहयोग गरे भने उनको दावी सही सावित हुन्छ । अर्थात् उनले कूल ५ हजार १ सय ३० मत प्राप्त गर्छन् र नतिजा पनि उनकै पोल्टामा आउँछ । यसो हुँदा उनलाई अन्य कुनैपनि दलको सहयोग चाहिँदैन ।

बागमती प्रदेशमा ११९ वटा स्थानीय तहका कूल २३८ जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ११० जना सदस्यले मतदान प्रक्रियामा सहभागी हुन पाउँछन् ।

स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी कूल २३८ मतदाताको मतभार प्रतिव्यक्ति १८ गणना हुनेछ । अर्थात स्थानीय तहको मत कूल ४ हजार २ सय ८४ हुन आउँछ ।

त्यस्तै, प्रदेशसभाका ११० जनासांसद्को मतभार प्रतिव्यक्ति ४८ गणना हुनेछ । अर्थात् प्रदेशसभाको कूल ५ हजार २ सय ८० मत हुन आउँछ ।
बागमती प्रदेशको स्थानीय तहमा नेकपा एमालेको १३३ जना मतदाता छन् । जसमध्ये ४५ एमालेको माधव–झलनाथ समूहका छन् भने ८८ जना ओली समूहका छन् ।

गृहमन्त्री बादल, प्रदेश निर्वाचन कार्यालय हेटौँडामा प्रवेश गर्दै

अर्थात् एमालेको माधव–झलनाथ समूहको ८१० मत छ भने ओली समूहको १५८४ मत छ ।

नेपाली कांग्रेसको ६८, माओवादी केन्द्रको ३३ र अन्य साना दलको ४ जना मतदाता छन् ।

डा. देवकोटालाई साना दलको सहयोग प्राप्त हुने हो भने गठबन्धनतर्फको कांग्रेस र माओवादीसहितको कूल १८९० मत प्राप्त हुन्छ ।
अब माधव–झलनाथ पक्षले पनि डा. देवकोटालाई सहयोग गर्दा कूल २७०० मत प्राप्त हुन्छ ।

अब प्रदेशतर्फ हेरौँ, कूल ११० जना प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेको ५७ जना सांसद् छन् । यो स्पष्ट बहुमत हो । तर, माधव–झलनाथ समूहमा २२ जना सांसद् उभिएका छन् ।

प्रदेशसभा सदस्यको प्रतिव्यक्ति ४८ मतभार गणना हुँदा एमालेको कूल २७३६ मत हुन आउँछ । जसमा ओली पक्षको १६८० मात्रै मत छ भने माधव–झलनाथको १०५६ मत गणना हुन्छ ।
बागमती प्रदेशमा साना दलका ८ जना सांसद् रहेका छन् । जसमा विवेकशील साझा पार्टीको ३, राप्रपाको २, जसपाको १ जना सांसद् छन् भने, नेपाल मजदुर किसान पार्टीको २ जना सांसद् रहेका छन् ।
२ जना सांसद् बोकेर नेककिपाका कृष्णबहादुर तामाङ् पनि राष्ट्रियसभाको सदस्य पदको उम्मेदवार बनेका छन् । उनको ९६ मत गणना
हुन्छ ।

उम्मेदवारी दर्तापश्चात नेमकिपाका नेता कृष्णबहादुर तामाङ

डा. देवकोटालाई नेमकिपा बाहेकका साना दलले सघाउँदा, थप २८८ मत प्राप्त हुन्छ ।

बागमती प्रदेशमा माओवादी केन्द्रको २३ र नेपाली कांग्रेसको २२ जना सांसद् रहेका छन् । जसको कूल २१६० मत छ ।

गठबन्धनको समर्थन पाएका उम्मेदवार डा. देवकोटालाई माधव–झलनाथ समूहसहित साना दलको समर्थन प्राप्त हुँदा ३५०४ मत प्राप्त
हुन्छ ।

तस्वीरः डा. देवकोटासँग कांग्रेस, माओवादी र एमाले माधव समूहका नेताहरु

माधव–झलनाथको सहयोगमा उल्टिनसक्छ नतिजा

नेकपा एमालेको कूल ५१३० मत सबै झरे बादलले चुनाव जित्छन् । तर, माधव–झलनाथले डा. देवकोटालाई सहयोग गरे बादलको कूल १८६६ मत काटिन्छ । अर्थात् बादललाई ३२६४ मत मात्रै आउँछ ।

यता, डा. देवकोटाको गठबन्धन (माधव–झलनाथबाहेक) बाट ४३३८ मत प्राप्त हुन्छ । माधव–झलनाथ समूहको १८६६ मत थपिँदा कूल ६२०४ मत प्राप्त हुन्छ ।

यसो हुँदा डा. देवकोटाले २९४० मतसहित बादललाई पराजित गर्छन् । डा. देबकोटा संघीयताबिज्ञ हुन् ।

प्रदेश नीति तथा योजना आयोगमा पूरै कार्यकाल काम गर्न ओली पक्षका मुख्यमन्त्री डोरमणि पौडेलले अबरोध गरेको भन्दै राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*