राष्ट्रिय सभा सदस्य पदमा नेमकिपाको तर्फबाट तामाङ्ले गराए मनोनयन दर्ता

तु खबर संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १३:१८

मकवानपुर । राष्ट्रिय सभा सदस्य (रिक्त) पदको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट कृष्णबहादुर तामाङ्ले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा क्रमश बागमती प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाईँ र समर्थकमा सृजना शैँजु रहेको निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।
यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले पनि राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

बादलको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन् ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनका साझा उम्मेदवार डाक्टर खिमलाल देवकोटाले मनोनयन दर्ता गराइसकेका छन् ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् । यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*