संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कांग्रेस मकवानपुरले विरोध प्रदर्शन गर्ने
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसको प्रतिनिधिसभा १ को हेटौंडा उपमहानगरपालिका १६ को हटिया चिसापानी बजार र प्रतिनिधिसभा २ को थाहा नगरपालिकाको पालुङमा यही पुस १३ गते संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा र्यालीसहित विशाल विरोध प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले देशव्यापीरुपमा १६५ नै निर्वाचन क्षेत्रमा एकसाथ गर्ने विरोध प्रदर्शनको आवश्यक तयारीका लागि नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिले हेटौंडा नगरका १९ वटै वडाका सभापति तथा पदाधिकारी बोलाएर शनिबार छलफल गरेको छ ।
नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्य सुशान्त श्रेष्ठ, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटा, प्रतिनिधिसभा १ को ख का क्षेत्रीय सभापति तारानाथ चौलागाईलगायतले विरोध प्रदर्शन सफल बनाउने बारेमा आ–आफ्नो धारण व्यक्त गरेका थिए ।
बैठक तथा छलफलमा हेटौंडा नगरका कोषाध्यक्ष कविन सांगामी, १९ वटै वडाका सभापति तथा पदाधिकारीहरु, क्षेत्रीय समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
