एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

तु खबर संवाददाता
२०८२ फाल्गुन २९, शुक्रबार ०८:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

अध्यक्ष ओलीको सचिवालयका अनुसार मोहनप्रसाद ओलीको बिहान करिब ३ बजे भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री नगर अस्पतालमा निधन भएको हो। केही दिनदेखि अस्वस्थ रहेका उनलाई आज बिहान अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओली केही समयदेखि बिरामी थिए र छोरीको घरमा बस्दै आएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई अस्पताल लगिएको थियो।

उनको पार्थिव शरीर केही बेरमा भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा  दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।