प्रतिनिधिसभा निर्वाचनका मतपत्र छपाइ सम्पन्न, १० दिनभित्र जिल्लामा ढुवानी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगले दिएको जिम्मेवारी अनुसार सोमबार साँझ छपाइ कार्य पूरा गरिएको जनाएको छ।
आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशहरूमा ढुवानी गरिनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब चार करोड मतपत्र छपाइ गरिएको हो।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ गरिएको छ। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइ ४० दिनमै सम्पन्न भएको छ। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने तयारी गरिएको छ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ।
समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र यसअघि नै छापिएका थिए र ती मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी प्रदेशहरूमा पनि १० दिनभित्र पुर्याइने गरी काम भइरहेको छ।प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ।
