मकवानपुर २ : तीन दर्जन बढी उम्मेदवार डेढ लाख मतदाताको परीक्षामा, को होला उतीर्ण

तु खबर संवाददाता
२०८२ फाल्गुन ५, मंगलवार ०३:१६

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अहिले प्रतिनिधिसभा निर्वाचनको चहलपहल तीव्र बन्दै गएको छ । निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार यस क्षेत्रबाट २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १८ जना विभिन्न राजनीतिक दलबाट र ३ जना स्वतन्त्र उम्मेदवार हुन् । उम्मेदवारमध्ये महिला संख्या २ मात्रै रहेको छ ।

घरदैलो अभियानमार्फत उम्मेदवारहरु मतदातासम्म पुगिरहेका छन् । परिचित अनुहार र पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारबीच यस पटकको चुनाव हुँदैछ ।
चुनावका मुख्य प्रतिस्पर्धी को–को छन ? मकवानपुर–२ मा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
एमालेबाट महेश बर्तौला, कांग्रेसबाट बुद्ध लामा, नेकपाबाट लवशेर विष्ट र रास्वपाबाट प्रशान्त उप्रेती उम्मेदवार छन् । बर्तौला एमालेका केन्द्रीय सदस्य हुन् । लामा कांग्रेस मकवानपुरका जिल्ला सभापति हुन् भने विष्ट थाहा नगरपालिकाका निवर्तमान मेयर हुन् ।

२०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा यी तीन उम्मेदवारलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले ३६ हजार ८ सय ३६, कांग्रेसले ३४ हजार १ सय ६९ र तत्कालीन माओवादीले २२ हजार २ सय ३७ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २८ हजार २ सय ४६, कांग्रेसले २१ हजार ५ सय ६० र माओवादीले १३ हजार १३ मत पाएको थियो ।

त्यसैगरी, रास्वपाले ११ हजार २ सय ९७, राप्रपाले ३ हजार ४१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५ सय ९० मत प्राप्त गरेको निर्वाचन आयोगको विवरण छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट ८२ हजार २ सय ९६ सदर मत खसेका थिए । आगामी निर्वाचनका लागि कुल मतदाता संख्या १ लाख ५६ हजार ७ सय ९९ रहेको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरेका थिए । कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ३० हजार ३ सय ९६ मत ल्याएका थिए ।

रास्वपाका भरत पराजुलीले १२ हजार ३९, राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ र नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले १ हजार ८ सय ५ मत पाएका थिए ।
यस पटक रास्वपाबाट भरत पराजुली उम्मेदवार छैनन् । पार्टीले मनहरी गाउँपालिकाका २५ वर्षीय प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ ।

मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ भौगोलिक विकटता र सामाजिक–आर्थिक रुपमा पछाडि परेको भूगोलको रुपमा चिनिन्छ । मकवानपुर–२ मा मध्यमवर्गीय समुदायसँगै विपन्न तथा अतिसिमान्तकृत समुदायको बसोबास छ । यस क्षेत्रमा नागरिकको बग्रेल्ती दुःख, कष्ट र समस्याको चाङ छन । २०४६ को बहुदलदेखि संघीयतासहितको अभ्यास थालेको ८ वर्ष बितिसक्दा पनि २ नम्बर क्षेत्रको समस्या ज्युँकात्युँ छ । यहाँ भौगोलिक विकटताको कठिनाईले अँध्यारो मुनिको बस्ती अझै छन । गाँजा र अफिम उत्पादन र ओसारपसार हुने भएकाले राक्सिराङ र कैलाशका सयौं नागरिक (अधिकांश युवा उमेरका) कारागारमा सजाय काटिरहेका छन् ।

यो निर्वाचन क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका भूभागसम्म फैलिएको छ । मनहरी, राक्सिराङ, कैलाश, थाहा नगरपालिका, इन्द्रसरोबर र भीमफेदी गाउँपालिकाका क्षेत्रहरू यस निर्वाचन क्षेत्रमा पर्छन् । मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ३, ११ र १९ का मतदाता यस क्षेत्रमा समावेश छन् ।