स्वागत नेपालको घोषणा : कम खर्च, साधारण र शान्तिपूर्ण चुनाव प्रचार

तु खबर संवाददाता
२०८२ फाल्गुन ४, सोमबार १०:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वागत नेपाल ले आफूले सबैभन्दा कम खर्चमा चुनाव प्रचार-प्रसार गर्ने बताएका छन्।

निर्वाचन आयोग ले आजदेखि औपचारिक रूपमा प्रचार-प्रसार गर्न अनुमति दिएसँगै फागुन १८ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार गर्न पाउनेछन्।

स्वागत नेपालले एक भिडियो सन्देशमार्फत आफ्नो प्रचार शैली अत्यन्त साधारण र खर्चरहित हुने स्पष्ट पारे। “मेरो चुनाव प्रचार अत्यन्त सरल हुनेछ। सम्भव भएसम्म खर्च नगरी, शान्तिपूर्ण ढंगले घरघरका अगाडि पुगेर, सम्भव नभए सामान्य साउण्ड सिस्टममार्फत आफ्ना विचार राख्दै हिंड्नेछु,” उनले भने। अरूले पनि ‘यस्तो पनि प्रचार हुन्छ?’ भन्ने गरी सादगीपूर्ण अभियान सञ्चालन गर्न सकून् भन्ने आफ्नो चाहना रहेको उनले बताए।

उनले सबै दल र स्वतन्त्र उम्मेदवारलाई खर्चिलो प्रचारभन्दा स्वच्छ, शान्तिपूर्ण र लोकतान्त्रिक संवादमा आधारित प्रचार गर्न आग्रह गरे। साथै मतदातालाई अत्यन्त विचार गरेर मात्र मतदान गर्न अनुरोध गरे।

राजनीतिक धारणा स्पष्ट पार्दै स्वागत नेपालले नेपालमा अभिभावकको रूपमा राजसंस्था आवश्यक रहेको र देश दलहरूले सञ्चालन गर्दा पनि खासै फरक नपरेको टिप्पणी गरे। साथै हिन्दू, बौद्ध, किराँतसहित सर्वधर्म सदभावयुक्त राज्य व्यवस्था हुनुपर्ने उनको धारणा छ।

संघीय संरचनाबारे उनले हालको खर्चिलो संघीयताभन्दा १४ अञ्चल र ७५ जिल्लामा आधारित, जनप्रतिनिधिले तलबभत्ता नलिने र प्रदेशहरू सेवा प्रदायक निकायका रूपमा रहने संघीयता आवश्यक रहेको बताए।