के.पी. शर्मा ओलीलाई नै भोट किन ? एमालेको चुनावी प्रतिबद्धता सार्वजनिक
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पुनः मतदान गर्न आग्रह गर्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। “के.पी. शर्मा ओलीलाई नै भोट किन ?” शीर्षकसहित सार्वजनिक गरिएको प्रचार सामग्रीमा राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास र जनजीविकासँग सम्बन्धित विस्तृत एजेन्डा समेटिएको छ।
घोषणापत्रमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्र सुदृढीकरण गर्ने, विदेशी हस्तक्षेप अन्त्य गर्ने र जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, हाल नेपाली जनतामा रहेको निराशा अन्त्य गर्दै देशमा शान्ति-सुरक्षाको सुनिश्चितता गर्ने उल्लेख छ।
यसमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने, सुशासन कायम गर्ने, रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने, प्राविधिक शिक्षा विस्तार गर्ने तथा स्वरोजगार अभिवृद्धि गर्ने योजना समेटिएको छ। कृषि, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि अघि सारिएको छ।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा स्थानीय तहदेखि अस्पताल तथा विद्यालयहरूको स्तरोन्नति, सेवा विस्तार, सामुदायिक विद्यालय सुदृढीकरण, शिक्षक दरबन्दी व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड दिइएको छ। सडक, पुल, औद्योगिक पार्क, पर्यटन प्रवर्द्धन तथा पुनर्निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता समेत घोषणामा उल्लेख गरिएको छ।
प्रचार सामग्रीमा सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्दै मतदातालाई विकास, स्थायित्व र समृद्धिको पक्षमा उभिन आह्वान गरिएको छ।

