आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

तु खबर संवाददाता
२०८२ फाल्गुन ४, सोमबार १०:१६

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार-प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिनअघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ।

निर्वाचन आयोगका अनुसार सोही व्यवस्थाअनुसार फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार-प्रसार गर्न सक्नेछन्। यस अवधिमा दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।

आयोगले निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, प्रमाण र अवस्थाका आधारमा सचेत गराउने, दण्ड-जरिवाना तथा आवश्यक परे उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार दल र उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन् भने आमसभा र कोणसभामा मञ्च तयारीमा लागेको खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

निर्वाचनका क्रममा सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले दोहोर्‍याउँदै सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ।