अर्घाखाँचीलाई अर्गानिक र धार्मिक पर्यटनको केन्द्र बनाउने फुल्लेलको संकल्प

तु खबर संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार ०९:३०

काठमाडौँ ।अर्घाखाँची जिल्लाको समग्र विकास, धार्मिक पहिचान संरक्षण र स्थानीय रोजगारी सृजनालाई मूल एजेन्डा बनाउँदै प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार झविन्द्र फुल्लेलले चुनाब प्रचारप्रसार तीब्र बनाएका ।उनी  राष्ट्रिय प्रजातन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका हुन्।

धर्मबीरोधी सम्पूर्ण गतिविधि अन्त्य गर्दै मठमन्दिर तथा देवालयको उचित संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै फुल्लेलले सुपादेउराली मन्दिर, नरपानी अर्घाभगवती, मालारानी मन्दिर, ढुङ्गे बगैँचा, उल्क छत्रदेवालय, बल्कोट पौवा, मथुरा लगायतका धार्मिक स्थललाई समेटेर धार्मिक पर्यटन करिडोर विकास गर्ने योजना अघि सारेका छन्।

उनले जिल्लालाई अर्गानिक कृषि उत्पादनको हब बनाउने, बाँझिँदै गएका खेतबारी तथा पाखा-पखेरामा जडीबुटी खेती विस्तार गरी युवालाई स्वदेशमै रोजगारी दिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्। साथै सरकारी बजेटबाट निर्माण हुने भवन तथा योजनामा स्थानीय सामग्रीलाई प्राथमिकता दिइने प्रतिबद्धता पनि जनाएका छन्।

स्वास्थ्य क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्दै जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई सुविधा सम्पन्न बनाउने, भ्रष्टाचार र ढिलासुस्ती भइरहेका आयोजनाहरू खारेज गर्दै बाँकी योजनाहरू समयमै सम्पन्न गराउने उनको एजेन्डामा समावेश छ।

स्थानीय जातका पशुपक्षी र उत्पादनशील वस्तुको संरक्षण तथा व्यवसायीकरण, पाणिनी क्षेत्रमा ध्यानकेन्द्र स्थापना गरी धार्मिक तथा सांस्कृतिक पहिचान बलियो बनाउने, किसानको बाली जोगाउन बादर र बदेलजस्ता वन्यजन्तुको आतङ्क नियन्त्रण गर्ने प्रतिबद्धताले मतदाताको ध्यान तानेको छ।

उम्मेदवार फुल्लेलले हलो चुनाव चिह्नमा मतदान गरी विजयी बनाउन अर्घाखाँची जिल्लाका सम्पूर्ण मतदातासमक्ष अपिल गर्दै साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। जिल्लाको धर्म, संस्कृति, कृषि र विकासलाई एकसाथ अघि बढाउने उनको एजेन्डाले चुनावी माहोल थप उत्साहजनक बनेको छ।