ईकोसकः थपिँदो चुनौतीका बीच दिगो विकासका लक्ष्य

गिरिजा अधिकारी
२०८२ माघ १८, आईतवार ०६:२१

संयुक्त राष्ट्रसंघको बडापत्रद्वारा स्थापित ईकोसक आर्थिक तथा सामाजिक विकासका निम्ति एउटा अन्तर्राष्ट्रिय मञ्च मात्र होइन, सामाजिक न्यायका लागि स्थापित विश्वको सर्वोच्च अङ्ग पनि हो। केही दिनअघि ईकोसकले आफ्नो ८०औँ वार्षिकोत्सव मनायो। यो ८ दशकमा ईकोसकले विभिन्न आरोह-अवरोह पार गर्‍यो। सन् १९४५ मा स्थापना भएयता विश्वव्यापी संवाद र निर्णय प्रक्रियामा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसले विभिन्न राष्ट्रका आकाङ्क्षाहरूलाई ठोस रूपमा कार्यान्वयनमा ल्याउँछ।

अहिलेको अवस्थालाई हेर्ने हो भने ईकोसकले ६५०० भन्दा बढी गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको छ। यसले नागरिक समाजको आवाजलाई विश्वस्तरमा पुर्‍याइरहेको छ। ईकोसकले २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न काम गरिरहेको छ। अहिले ईकोसकको अध्यक्षता नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गरिरहेका छन्।

विश्व अहिले गम्भीर रूपमा आर्थिक र सामाजिक समस्याहरू भोगिरहेको छ। अध्यक्ष थापाले आफ्नो कार्यकालमा अझ राम्रो परिणाम दिने लक्ष्य बोकेर ईकोसकको नेतृत्व गरिरहेको बेला लक्ष्यहरू प्राप्त गर्न थप चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यद्यपि यसलाई सफल बनाउन प्रतिबद्धताबाट नतिजातर्फको उद्देश्य बोकेर थापा अघि बढेका छन्। यतिबेला नेपालले अति कम विकसित देशहरू र भूपरिवेष्टित विकासोन्मुख देशहरू तथा साना टापु राष्ट्रहरूको मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको छ। यी राष्ट्रहरू हाल ऋणको बोझमा छन् र वित्तीय समस्याले जेलिएका छन्।

इकोसकको ८० औँ वार्षिक उत्सवका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रम । फोटो : संयुक्त राष्ट्रसंघ/म्यानुअल एलियास

अध्यक्ष थापाले ईकोसकलाई साझा समस्याहरूको समाधानका लागि विश्वव्यापी कार्यशालाका रूपमा परिभाषित गरेका छन्, जहाँ साझेदार देशहरूले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न आवश्यक फोरम पाएका छन्। यस वर्षको साझेदारी मञ्चले विशेष गरी पाँच वटा लक्ष्यहरू— स्वच्छ पानी र सरसफाइ (लक्ष्य ६), किफायती ऊर्जा (लक्ष्य ७), उद्योग र नवीनता (लक्ष्य ९), र दिगो सहरहरू (लक्ष्य ११) र साझेदारी (लक्ष १७) लाई समीक्षाको केन्द्रमा राखेको छ। यी क्षेत्रलाई अन्य सबै विकासका लागि ‘पूर्वाधार’ मानिएको छ। सीमित स्रोतका बीच क्षमताहरू एकीकृत गरी व्यक्तिगत रूपमा गर्न नसकिने कामहरू साझेदारीमार्फत गर्ने धारणा थापाको छ। प्रभावकारी साझेदारीको सुरुवात नै सरोकारवालाहरूको कुरा सुन्ने र उनीहरूको व्यावहारिक अनुभवलाई नीतिमा समावेश गर्ने प्रक्रियाबाट गर्ने योजना थापाले सार्वजनिक गरेका छन्।

ईकोसकको ८०औँ वर्षगाँठ केवल उत्सव मात्र नभई आत्मालोचना र सुधारको अवसर पनि हो। अहिले सदस्य राष्ट्रहरू ईकोसक र उच्चस्तरीय राजनीतिक मञ्चको पुनरावलोकन गर्ने तयारीमा छन्। यो प्रक्रिया संयुक्त राष्ट्र संघलाई अझ सुदृढ र प्रभावकारी बनाउने कुरासँग प्रत्यक्ष जोडिएको छ। महासचिव एन्टोनियो गुटेरेसले पनि आफ्नो सन्देशमा ईकोसकले बहुपक्षीयताको लचिलोपन देखाउनुपर्ने र विश्वव्यापी सहयोगले अझै पनि नतिजा दिन सक्छ भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिएका छन्।

सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न अहिले परिषद्लाई धेरै चुनौतीहरूको सामना गर्न परिरहेको छ। ईकोसक साझेदारी मञ्चमा केही चुनौतीलाई यहाँ चर्चा गर्नु सान्दर्भिक हुन आउँछ। दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएको समय सकिन अब ५ वर्ष बाँकी छ। यसका प्रगतिहरू चिन्ताजनक अवस्थामा छन्। चरम गरिबीको अवस्था सन् २०१५ को स्तरमा फर्किएकोमा उपमहासचिव अमिना मोहम्मदले आफ्नो सम्बोधनमा उल्लेख गरेकी छिन्। विश्वव्यापी भोकमरीको तह पनि सन् २०१५ को तुलनामा अझ बढेको छ। खानेपानी र सरसफाइको अवस्था पनि बिग्रिएको छ, जहाँ २.२ अर्ब मानिसहरू सुरक्षित पिउने पानीको पहुँचबाट बाहिर छन्।

इकोसकको ८० औँ वार्षिक उत्सवका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रम । कार्यक्रमको अध्यक्षता इकोसकका अध्यक्ष एवम् संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोक बहादुर थापा । साथमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस लगायतका व्यक्तित्वहरु । फोटो : गिरिजा अधिकारी / न्युयोर्क ।

आर्थिक रूपमा विकासोन्मुख देशहरूले ४० खर्ब डलरभन्दा बढीको वित्तीय अभाव झेलिरहेका छन्। धान्न नसकिने ऋणको बोझमा राष्ट्रहरू परेका छन्। विश्व समुदाय अहिले विभिन्न द्वन्द्व र प्राकृतिक विपत्तिहरूको कारण दबाबमा छ र भएका पूर्वाधारहरू पनि नष्ट भइरहेका छन्। यसले मानिसहरूको जीवन नै अस्तव्यस्त बनाइदिएको छ। विकासमा लगानी गर्नुपर्नेमा घरेलु तथा बाह्य द्वन्द्वको मारमा अर्थतन्त्र तहसनहस भएको छ। मानिसका क्रियाकलापका कारण जलवायु परिवर्तनका असरहरूले थप चुनौती सिर्जना गरिरहेका छन्।

 

अहिले सदस्य राष्ट्रहरू ईकोसक र उच्चस्तरीय राजनीतिक मञ्चको पुनरावलोकन गर्ने तयारीमा छन्। यो प्रक्रिया संयुक्त राष्ट्र संघलाई अझ सुदृढ र प्रभावकारी बनाउने कुरासँग प्रत्यक्ष जोडिएको छ। महासचिव एन्टोनियो गुटेरेसले पनि आफ्नो सन्देशमा ईकोसकले बहुपक्षीयताको लचिलोपन देखाउनुपर्ने र विश्वव्यापी सहयोगले अझै पनि नतिजा दिन सक्छ भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिएका छन्।

 

विश्वमा देशहरूबीच र देशभित्र पनि सामाजिक तथा लैङ्गिक असमानताहरू बढ्दो अवस्थामा छन्। यसले लक्ष्य ५ निर्धारित समयमा पूरा हुन नसक्ने अवस्था उच्च बनाइदिएको छ। अफ्रिका जस्ता देशहरूले ऊर्जा संकट भोगिरहेका छन्, जहाँ ८५ प्रतिशत विद्युत् अभावको भार परेको छ। विश्वका जटिल आर्थिक तथा सामाजिक चुनौतीहरू सरकारले एक्लै समाधान गर्न सक्दैन। यसका लागि विश्वका साझेदारहरू एक ठाउँमा उभिन आवश्यक छ। ८० वर्षे ईकोसकको इतिहासले यस्ता चुनौतीहरूको समाधान साझेदारीमार्फत गर्न सकिन्छ भनेर प्रमाणित गरिदिएको छ। अबको समय संवादबाट डेलिभरीतर्फ, साझा मनसायबाट साझा कार्यान्वयनतर्फ, र एकताका साथ तीव्र गतिमा अघि बढ्ने समयको रूपमा अध्यक्ष थापाले चित्रण गरेका छन्।

सन् २०३० सम्मको लक्ष्य भेटाउन तीव्रताका साथ साझेदारी गर्दै काम गर्न आवश्यक छ, जसले हिजोको ईकोसकको स्थापनाका उद्देश्यहरूलाई थप प्रमाणित गरिदिन सक्नेछ।