इरानमा प्रदर्शनकारीमाथि भएको दमनप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त
न्युयोर्क । इस्लामिक गणतन्त्र इरानका विभिन्न सहरहरूमा जारी विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको विज्ञप्तिमा इरानी अधिकारीहरूले गरेको हिंसात्मक दमन र त्यसबाट भएको मानवीय क्षतिप्रति महासचिव स्तब्ध भएको उल्लेख गरिएको छ।
हालैका दिनहरूमा भएका यी प्रदर्शनहरूमा सुरक्षा बलको हस्तक्षेपका कारण दर्जनौँ मानिसको मृत्यु भएको र ठूलो संख्यामा नागरिकहरू घाइते भएको रिपोर्टहरू बाहिर आएका छन्। महासचिवले सबै इरानी नागरिकहरूलाई आफ्ना असन्तुष्टि र गुनासाहरू बिना कुनै डर र शान्तिपूर्ण रूपमा व्यक्त गर्न पाउने वातावरण बनाउन आग्रह गरेको प्रवक्ताद्वारा जारी विज्ञीप्तीमा उल्लेख छ । अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारको पूर्ण सम्मान र संरक्षण हुनुपर्नेमा महासचिव गुटेरेसले जोड दिएका छन् ।
विज्ञप्ति मार्फत महासचिवले इरानी सरकारलाई अधिकतम संयम अपनाउन र नागरिकहरूमाथि अनावश्यक वा असन्तुलित बल प्रयोग नगर्न आग्रह गरेका हुन् । यसका साथै, इरानमा अवरुद्ध पारिएका सञ्चार सेवाहरू तत्काल सुचारु गरी नागरिकहरूको सूचनाको हक सुनिश्चित गर्न समेत संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।
जनवरी ८ को साँझदेखि इन्टरनेट र मोबाइल सेवा पूर्ण रूपमा बन्द गरिएको थियो, जसका कारण हिंसा बढ्दै जाँदा सूचनाको पहुँचमा गम्भीर अवरोध सिर्जना भएको राष्ट्रसंघले जनाएको छ । इरानी राष्ट्रिय मुद्राको अचानक अवमूल्यन भएपछि डिसेम्बर २८ बाट सुरु भएको यो विरोध प्रदर्शन हालसम्म देशभरका कम्तीमा ४६ सहरहरूमा फैलिसकेको छ।
यस क्रममा कम्तीमा पाँच बालबालिका सहित दर्जनौँ मानिसहरूको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। इरानी संसदले सुरक्षा निकायका सदस्यहरू तर्फ पनि मानवीय क्षति भएको जानकारी दिएको प्रवक्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
