समयमै काम नसक्ने ९ निर्माण कम्पनी कालो सूचीमा राख्ने प्रक्रिया सुरु
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयभित्र काम सम्पन्न नगर्ने नौ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।
विभिन्न सरकारी निकायबाट प्राप्त विवरणका आधारमा कार्यालयले ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। प्रकाशित सूचनाअनुसार सूचना जारी भएको मितिबाट सात दिनभित्र आफ्नो पक्षसहितको स्पष्टीकरण बुझाउनुपर्नेछ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१(४)(क) अनुसार तोकिएको समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई कालो सूचीमा राख्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
कालो सूचीमा राख्ने प्रक्रियामा परेका कम्पनीहरूमा ओम गणेश निर्माण सेवा, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, डाइमेन्सनल कन्स्ट्रक्सन प्रालि, जिमी मेटल क्राफ्ट इन्डस्ट्रिज, सुरज कन्स्ट्रक्सन, अर्भान कन्स्ट्रक्सन, ब्रदर्श कन्स्ट्रक्सन तथा सूर्यदीप छापाखाना रहेका छन्।
