पार्टी एकतामा प्रतिकूल गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई अन्त्य गर्दै सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्।
खड्काले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन्। उनले वर्तमान अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य रहेको उल्लेख गर्दै सबै तहका नेता-कार्यकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्।
विज्ञप्तिमा उनले अहिले मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्। प्रतिनिधि सभा विघटन भएसँगै देशमा अन्योल र अनिश्चितता बढेको भन्दै आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारु गर्नु आवश्यक रहेको बताएका छन्।
खड्काले नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित दल भएकाले पार्टीका काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गरेका छन्। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गर्दै नेतृत्व पनि सहज रूपमा परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको उनको भनाइ छ।
तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानकै रूपमा लाग्न आवश्यक छ विज्ञप्तिमा भनिएको छ।
कार्यवाहक सभापति खड्काले कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र सहयोगी सबैलाई देशको विषम परिस्थितिप्रति गम्भीर हुन आग्रह गरेका छन्।
उनले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिँदै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगरी सम्पूर्ण एकताका साथ अघि बढ्न हार्दिक अनुरोध गरेका छन्।


