देउवा अनुपस्थित, गगन-विश्वप्रकाशद्वारा कांग्रेस विशेष महाधिवेशन उद्घाटन

तु खबर संवाददाता
२०८२ पुष २७, आईतवार १४:४२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा केही बेरअघि सुरु भएको छ। विशेष महाधिवेशन उद्घाटन समारोहमा भाग लिन सभापति शेरबहादुर देउवालाई निम्ता दिइए पनि उनी सहभागी भएनन्।देउवा अनुपस्थित भएपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दियो बालेर तथा बिरुवामा पानी हालेर विशेष महाधिवेशन उद्घाटन गरेका हुन्। केन्द्रीय समितिले विशेष महाधिवेशनलाई औपचारिक रूपमा स्वीकार नगरेकाले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश पदाधिकारीहरू महाधिवेशनमा उपस्थित छैनन्।

महाधिवेशन स्थलमा महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन्। साथै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी भएका छन्।केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार रायलगायत सहभागी छन्।

यसैगरी संस्थापन पक्षका केन्द्रीय सदस्यहरू तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि महाधिवेशन स्थलमा पुगेका छन्।शेखर कोइराला निकट मानिएका चन्द्र भण्डारी, सुनिल शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितका नेताहरू पनि विशेष महाधिवेशनमा सहभागी भएका छन्।यसैबीच, नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सभापति देउवानिकट मानिएका नेताहरू पनि खुल्न थालेका छन्। उद्घाटन समारोहमा देउवासमूहका उदयशमशेर राणा, विनोद चौधरी, डिला सङ्ग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्दुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाहलगायत नेताहरूको नाम वाचन गरिएको थियो।