उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

तु खबर संवाददाता
२०८२ पुष २६, शनिबार १६:३४
file-photo

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। पार्टी नेता गणेश घिसिङका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया टुटेपछि पार्टीले नयाँ नेतृत्व चयन गरेको हो।

यसअघि कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने अनुपकुमार उपाध्याय अध्यक्ष थिए। निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा पनि अध्यक्षका रूपमा उपाध्यायकै नाम दर्ता गरिएको थियो। तर रास्वपासँगको एकता भाँडिएसँगै पार्टीले कुलमानलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सातबुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार कुलमान घिसिङलाई रास्वपामा पहिलो वरीयताको उपसभापति बनाउने प्रस्ताव थियो, जसमा उज्यालो नेपालका तर्फबाट तत्कालीन अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए। तर पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिल्दा सहकार्य अघि बढ्न नसकेको बताइएको छ।

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच निरन्तर छलफल भए पनि विभिन्न विषयमा सहमति जुट्न नसकेपछि अन्ततः पार्टी एकता टुटेको हो। एकता असफल भएपछि अब दुवै पार्टी आ-आफ्नै रूपमा आगामी निर्वाचनमा जाने भएका छन्।

सरकारबाट बाहिरिएपछि र रास्वपासँगको सहमति तोडिएसँगै कुलमान घिसिङ स्वयं पार्टी अध्यक्ष बनेर उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्न अग्रसर भएका छन्।