ट्रम्पद्वारा ३१ निकायबाट बाहिरिने घोषणाप्रति राष्ट्रसंघद्वारा दुख व्यक्त
न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न राष्ट्र संघीय निकायहरूबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले आज बिहीबार जारी गरेको वक्तव्यमा अमेरिकी निर्णय प्रति दुख व्यक्त गरिएको हो ।
वक्तव्यमा महासभाद्वारा स्वीकृत संयुक्त राष्ट्र संघको नियमित र शान्ति स्थापना बजेटमा योगदान पुर्याउनु संयुक्त राज्य अमेरिका लगायत सबै सदस्य राष्ट्रहरूको संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गतको एक कानुनी दायित्व भएको स्पष्ट पारिएको छ ।
प्रवक्ता दुजारिकले अमेरिकाको यस कदमका बाबजुद राष्ट्र संघले सदस्य राष्ट्रहरूबाट प्राप्त कार्यादेश बमोजिम आफ्ना गतिविधिहरू दृढ संकल्पका साथ जारी राख्ने र आफूमाथि निर्भर रहेका विश्व समुदायका लागि सेवा प्रवाह गरिरहने स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ जनवरी २०२६ मा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कुल ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट बाहिरिने घोषणा गरेपछि यो परिस्थिति सिर्जना भएको हो। यस निर्णय अन्तर्गत अमेरिकाले जलवायु परिवर्तनसँग सम्बन्धित र , मानवीय सहायताका लागि सक्रिय , र युएन विमेन लगायतका ३१ वटा प्रमुख राष्ट्र संघीय निकायहरूबाट हात झिक्ने भएको छ। ह्वाइट हाउसले आफ्नो ‘अमेरिका फस्ट’ नीति अन्तर्गत यो निर्णय गरिएको जनाएको छ । अमेरिकी सार्वभौमसत्ता र आर्थिक हितमा आँच पुर्याएको दाबी गर्दै बजेट कटौती गर्ने निर्णय लिएको हो।
अमेरिकाको यो बहिर्गमनले संयुक्त राष्ट्र संघमा गम्भीर वित्तीय र राजनीतिक प्रभाव पार्ने देखिएको छ। राष्ट्र संघको सबैभन्दा ठूलो योगदानकर्ता अमेरिका बाहिरिँदा विश्वव्यापी शान्ति स्थापना र मानवीय सहायताका कार्यमा अर्बौं डलरको अभाव हुने दृखिएको छ। यसले जलवायु परिवर्तन र विश्वव्यापी स्वास्थ्य जस्ता साझा चुनौतीहरूमा अन्तर्राष्ट्रिय सहकार्यलाई कमजोर बनाउने चिन्ता भइरहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघले आफूमाथि निर्भर रहेका विश्व समुदायका लागि सेवा प्रवाह गरिरहने स्पष्ट पारेको हो ।
