कांग्रेसभित्र विवादकै बीच पुस २७–२८ मा विशेष महाधिवेशन घोषणा

तु खबर संवाददाता
२०८२ पुष २३, बुधबार १५:१७

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही २०८२ साल पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार-प्रसार समितिअन्तर्गत गठित सूचना प्रसार उपसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुने जानकारी दिएको हो। महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गरेका हुन्।

पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गराएका ५४ प्रतिशतभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको समर्थनका आधारमा विशेष महाधिवेशन आह्वान गरिएको पक्षधरहरूको भनाइ छ। पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै विशेष महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरिएको छ।

विज्ञप्तिमा विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुने र त्यसपछिका कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको उल्लेख छ। साथै, सचिवालयका तर्फबाट शान्ति सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार भइसकेको र भृकुटीमण्डप यसअघि नै बुकिङ गरिसकिएको जानकारी दिइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। यद्यपि सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने धारणा सार्वजनिक गर्दै आएको छ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले पत्रकार सम्मेलनमार्फत सबै प्रतिनिधिहरूलाई उपस्थितिका लागि आग्रह गर्दै आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।