एमालेसँगको तालमेल र उम्मेदवार छनोटमा गगन थापाको असहमति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँगको तालमेल र उम्मेदवार चयनको प्रक्रियाप्रति फरक मत राखेका छन्। बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा उनले विधान र प्रक्रिया मिचिएको भन्दै असहमति जनाएका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीभित्र पछिल्लो समय छलफल र विधि बेवास्ता गर्दै निर्णय गरिँदै आएको आरोप लगाए। उनले केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय समिति र संसदीय बोर्डको अधिकार मिचेर उम्मेदवार छनोट गरिएको बताए।केन्द्रीय कार्यसम्पादन समितिबाट नाम पारित हुनै बाँकी थियो, तर उम्मेदवारहरू मनोनयनपत्र बोकेर निर्वाचन कार्यालय पुगिसक्नुभएको छ, थापाले भने, ‘राष्ट्रियसभाका उम्मेदवार छनोट गर्दा केन्द्रीय समिति र संसदीय बोर्ड दुवैको मानमर्दन गरियो।’
महामन्त्री थापाले कांग्रेस र एमालेबीच भएको सिट बाँडफाँड र क्लस्टर मिलानप्रति पनि प्रश्न उठाए। ११ माघमा हुने १८ सदस्यीय राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति भएको छ। तर उक्त सहमतिअनुसार उम्मेदवार छनोट गर्दा पार्टीको विधि नअपनाइएको उनको आरोप छ।नेताहरूले खल्तीबाट छानेर उम्मेदवार टुंगो लगाएका छन्। व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गरिएको छ, उनले भने, ‘कांग्रेसका ९ उम्मेदवारमध्ये ३ जना पार्टीका कुनै पनि कमिटीबाट सिफारिसमा परेका छैनन्।
थापाले उम्मेदवार छनोटमा समावेशिता बेवास्ता गरिएको भन्दै जनजाति र मुस्लिम समुदायबाट एक जना पनि प्रतिनिधित्व नसमेटिएकोप्रति आपत्ति जनाए।उनले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टीभित्र कर्नर गर्ने प्रयास भइरहेको दाबीसमेत गरे। ‘संख्याको दम्भ देखाएर हामी दुवै महामन्त्रीलाई घेराबन्दी गर्ने काम भएको छ,’ उनले भने, ‘तर पार्टी कार्यालयको घेरा सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा ठूलो छ।’
महामन्त्री थापाले उम्मेदवार चयनको सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने मंगलबारको निर्णयप्रति पनि असहमति जनाएको बताए। यही कारण बुधबारको बैठकमा आफूले लिखित रूपमा फरक मत दर्ता गरेको उनको भनाइ छ।महामन्त्रीको हैसियतले संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिको मानमर्दन गरिएको विषयमा कम्तीमा मेरो ठाउँबाट फरक मत राख्नु आवश्यक ठानेँ थापाले भने, ‘नेपाली कांग्रेसभित्र प्रक्रिया र विधान निल्दै जाने क्रम यतिसम्म आइपुगेको छ।’
