बाक्लो कुहिरोका कारण दिल्ली विमानस्थल प्रभावित

तु खबर संवाददाता
२०८२ पुष १४, सोमबार १०:२७

काठमाडौं ।सोमबार बिहान बाक्लो कुहिरो र शून्यजस्तै दृश्यताका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २०० उडान प्रभावित भएका छन्। कुहिरोका कारण धेरै उडान ढिलाइ भएका छन् भने केही उडान रद्द समेत गरिएको छ।

सोमबार बिहान ८:४५ बजे फ्वाइटराईडर२४को तथ्याङ्क अनुसार आइजीआई  विमानस्थलमा कम्तीमा १४४ प्रस्थान र ५१ आगमन उडान ढिलाइ भएका थिए भने छ वटा उडान रद्द गरिएको थियो। खराब दृश्यताका कारण उत्तर भारतका विभिन्न भागमा रेल सेवा पनि प्रभावित भएको छ, जहाँ धेरै रेलहरू ढिलो चलेका छन्।

खराब मौसमलाई ध्यानमा राख्दै विभिन्न एयरलाइन्सले यात्रुहरूका लागि सल्लाह जारी गरेका छन्। इन्डिगो एयरलाइन्सले दिल्लीमा दृश्यतामा उतारचढावका कारण उडान तालिकामा परिवर्तन आएको र दिल्ली तथा हिन्डन विमानस्थलमा सञ्चालन सामान्यभन्दा ढिलो हुन सक्ने जनाएको छ। मौसममा सुधार आएपछि उडान सञ्चालन क्रमशः सामान्य हुने पनि एयरलाइन्सले बताएको छ।

दिल्ली विमानस्थल प्रशासनका अनुसार बाक्लो कुहिरोका कारण उडान सञ्चालन हाल क्याट प्रणालीअन्तर्गत भइरहेको छ, जसले अत्यन्त कम दृश्यतामा पनि सुरक्षित अवतरण गर्न अनुमति दिन्छ। तर यस अवस्थाका कारण उडान ढिलाइ वा रद्द हुन सक्ने सम्भावना रहेको जनाइएको छ। यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्समार्फत उडानको स्थिति जाँच गर्न आग्रह गरिएको छ।

हिन्दुस्तान टाइम्स का अनुसार एयर इन्डियाले पनि आइतबार साँझ सल्लाह जारी गर्दै मौसम विभागको पूर्वानुमानअनुसार उडान ढिलाइ हुन सक्ने बताएको थियो। स्पाइसजेटले समेत कमजोर दृश्यताले उडान सञ्चालनमा असर पार्न सक्ने भन्दै यात्रुहरूलाई अतिरिक्त समय लिएर यात्रा गर्न अनुरोध गरेको छ।

भारतीय मौसम विभागले आगामी केही दिन उत्तर भारतका विभिन्न क्षेत्रमा बाक्लोदेखि धेरै बाक्लो कुहिरो लाग्ने पूर्वानुमान गरेको छ। डिसेम्बर ३१ सम्म हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, चण्डीगढ र पश्चिम उत्तर प्रदेशमा रात र बिहान कुहिरो लाग्ने सम्भावना रहेको छ भने पूर्वी उत्तर प्रदेशमा जनवरी १ सम्म दृश्यता कमजोर रहने अनुमान छ।

मौसम विभागले डिसेम्बर २९ का लागि दिल्लीमा सुन्तला चेतावनी जारी गरेको छ। आज दिल्लीको अधिकतम तापक्रम करिब २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।