पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई १७ वर्ष जेल सजाय

तु खबर संवाददाता
२०८२ पुष ६, आईतवार १०:०६

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई बहुमूल्य राज्य उपहारहरू अवैध रूपमा राखेको र कम मूल्यमा बेचेर नाफा कमाएको अभियोगमा पाकिस्तानी अदालतले १७ वर्षको जेल सजाय सुनाएको छ।

शनिबार सुनाइएको फैसलाले वर्षौँदेखि चल्दै आएको ‘तोशाखाना’ प्रकरणलाई टुंग्याएको छ। अभियोग अनुसार खान दम्पतीले साउदी अरेबिया सरकारसहित विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त गहना र अन्य उपहारहरू बजार मूल्यभन्दा अत्यन्तै कम मूल्यमा खरिद गरी पछि बेचेर आर्थिक लाभ लिएका थिए।

पाकिस्तानी कानुन अनुसार विदेशी पाहुनाबाट प्राप्त उपहार राख्न चाहने अधिकारीले तिनलाई बजार मूल्यमा किन्नु पर्ने र बिक्रीबाट भएको नाफा घोषणा गर्नुपर्ने व्यवस्था छ। तर अभियोजकहरूले खान दम्पतीले करिब २८५,५२१ अमेरिकी डलर मूल्य बराबरका उपहारहरू केवल १०,००० डलरमा खरिद गरी नाफा कमाएको दाबी गरेका छन्।

खान र बुशरा बीबीले भने सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। फैसलापछि खानका समर्थकहरूले कडा प्रतिक्रिया दिएका छन्। उनका प्रवक्ता जुल्फिकार बुखारीले प्रमाण, उद्देश्य वा नोक्सानको स्पष्ट आधारबिना नै नियमको पूर्वव्याख्यात्मक पुनर्व्याख्या गर्दै दोषी ठहर गरिएको आरोप लगाए।

रावलपिंडीस्थित आदियाला जेलमै न्यायाधीशले फैसला सुनाउँदा इमरान खान अदालतमा उपस्थित थिए। तर उनका परिवारका सदस्यहरूलाई अदालतमा प्रवेश गर्न अनुमति दिइएको थिएन। खान पक्षले बन्द ढोकामा गरिएको सुनुवाइ स्वतन्त्र र निष्पक्ष नभएको तथा यो “वास्तविक रूपमा सैन्य मुद्दा” भएको दाबी गरेको छ।

यसबीच सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले अदालतले ठोस प्रमाणका आधारमा निष्पक्ष निर्णय दिएको प्रतिक्रिया दिएका छन्। उनले खान दम्पती भ्रष्टाचारमा संलग्न भएको दाबी गर्दै अदालतको फैसलाको बचाउ गरे।

७३ वर्षीय इमरान खानले सन् २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अविश्वास प्रस्तावमार्फत पदच्युत भएपछि उनीमाथि भ्रष्टाचार र राज्य गोप्य सूचना चुहाएकोसहित विभिन्न मुद्दा लगाइयो। अगस्ट २०२३ देखि उनी जेलमा छन्, यद्यपि उनले सबै आरोपहरूलाई राजनीतिक प्रतिशोधको परिणाम बताएका छन्।

खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले सामाजिक सञ्जालमार्फत फैसलालाई “नक्कली” भन्दै “इतिहासको कालो अध्याय” को संज्ञा दिएको छ। हाल पाकिस्तानका प्रधानमन्त्री उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी शेहबाज शरीफ हुन्।

पदच्युतपछि खानले आफ्नो सरकार अमेरिकी समर्थनमा, पाकिस्तानको शक्तिशाली सेनाको सहयोगमा हटाइएको आरोप लगाउँदै आएका छन्। ती दाबीहरूलाई अमेरिका, पाकिस्तानी सेना तथा उनका विरोधीहरूले अस्वीकार गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त पूर्व क्रिकेटरसमेत रहेका इमरान खान पाकिस्तानमा अझै लोकप्रिय मानिन्छन्। उनको जेल सजायपछि विगत दुई वर्षदेखि देशका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। खानकी बहिनी अलिमा खानुमले पछिल्लो मुद्दा बनावटी भएको र राजनीतिक विपक्षीहरूले उनलाई सत्ताबाट टाढा राख्न जनताको जनादेश चोरेको आरोप लगाएकी छन्।