बंगलादेशको अशान्ति सीमापार, भारतसँग कूटनीतिक तनाव बढ्यो

तु खबर संवाददाता
२०८२ पुष ८, मंगलवार ०९:५१

काठमाडौं । बंगलादेशमा बढ्दो राजनीतिक तथा साम्प्रदायिक अशान्तिले अब सीमापार प्रभाव देखाउन थालेको छ। नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोग नजिकै प्रदर्शन भएपछि बंगलादेशले भारतका विभिन्न नियोगमार्फत प्रदान हुँदै आएको भिसा सेवा अनिश्चितकालका लागि निलम्बन गरेको छ। सुरक्षा चिन्तालाई कारण देखाउँदै लिइएको यस निर्णयसँगै भारत-बंगलादेश सम्बन्धमा कूटनीतिक तनाव चर्किएको छ।

भारतले बंगलादेशका राजदूतलाई बोलाएर अल्पसंख्यक समुदायमाथि भएका आक्रमण र कूटनीतिक नियोगहरूलाई लक्षित धम्कीप्रति कडा आपत्ति जनाएको छ। यसको प्रत्यक्ष असर भारतको कोलकातासम्म देखिएको छ, जहाँ बंगलादेश उच्चायोग बाहिर ठूलो विरोध प्रदर्शन भएको छ।

अशान्तिको केन्द्रमा बंगलादेशको मयमनसिंहमा भएको एक भयानक घटना छ। हिन्दू समुदायका कपडा कामदार दिपु चन्द्र दासलाई अप्रमाणित ईश्वरनिन्दाको आरोप लगाउँदै भीडले कुटपिट गरी घिसारेर झुण्ड्याएर आगो लगाएको घटनाले देश र क्षेत्रलाई स्तब्ध बनाएको छ। प्रहरी र र्‍यापिड एक्सन बटालियन का अनुसार यो हत्या आकस्मिक नभई धेरै घण्टासम्म योजनाबद्ध रूपमा भएको थियो।

प्रारम्भिक अनुसन्धानमा दासले कुनै पनि ईश्वरनिन्दात्मक टिप्पणी गरेको प्रमाण नपाइएको अधिकारीहरूले जनाएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार आरोप अस्पष्ट र अप्रमाणित देखिएको छ भने कार्यस्थलको विवाद सम्भावित ट्रिगर भएको आशंका गरिएको छ। घटनासँग सम्बन्धित कारखानाका सुपरिवेक्षक र सहकर्मीहरू सहित हालसम्म कम्तीमा १२ जना पक्राउ परेका छन्। दासलाई राजीनामा दिन बाध्य पारेर प्रहरीलाई नबुझाई कारखानाबाट निकालिएको र कानून कार्यान्वयनमा भएको ढिलाइ घातक बनेको अधिकारीहरूको भनाइ छ।

यस घटनापछि भारतको कोलकातामा व्यापक आक्रोश फैलिएको छ। प्रदर्शनकारीहरूले दिपु चन्द्र दासको हत्याको निन्दा गर्दै सीमा नाकाबन्दीसहित थप आन्दोलनको चेतावनी दिएका छन्।यसैबीच, गत वर्ष शेख हसिनाविरुद्धको विद्रोहका प्रमुख अनुहार उस्मान हादीको मृत्युले पनि बंगलादेशभर अशान्ति बढाएको छ। ढाकामा गोली लागेर घाइते भएका हादीलाई सिंगापुर लगिए पनि केही दिनपछि मृत्यु भयो, जसपछि उनी कट्टरपन्थी समूहहरूको ‘र्‍याली बिन्दु’ बनेका छन्।

हीन्दुस्तान टाईम्सका अनुसार  बढ्दो हिंसाबीच हिन्दू तथा अन्य अल्पसंख्यक समुदायहरू ढाका र अन्य शहरमा सडक प्रदर्शनमा उत्रिएका छन्। अन्तरिम सरकारले आफूहरूको सुरक्षा गर्न असफल भएको उनीहरूको आरोप छ। मानवअधिकार समूहहरूले शेख हसिनाको सरकार पतनपछि अल्पसंख्यकहरू झनै असुरक्षित बनेको चेतावनी दिएका छन्।हादीका सहयोगीहरूको नेतृत्वमा रहेको ‘इन्किलाब मान्चो’ ले अन्तरिम सरकारलाई अल्टिमेटम दिँदै न्याय नपाए जनआन्दोलनमार्फत सरकार ढाल्ने धम्की दिएको छ। समूहले द्रुत मुद्दा न्यायाधिकरण र विदेशी अनुसन्धान सहयोगको मागसमेत अघि सारेको छ।

अशान्ति चर्किँदै जाँदा मिडिया हाउसहरू पनि निशानामा परेका छन्। सोमबार भीडले ‘द डेली स्टार’ र ‘प्रथम आलो’का कार्यालयमा तोडफोड र आगजनी गर्दा पत्रकारहरू घण्टौँसम्म भवनभित्र फस्नुपरेको थियो। सम्पादकहरूले यी आक्रमणहरू प्रेसलाई चुप लगाउने उद्देश्यले गरिएको बताएका छन्।यसैबीच, बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी १२ मा आम चुनाव गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। तर, निरन्तर भीड हिंसा, हत्या र राजनीतिक अस्थिरताबीच स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण चुनाव सम्भव छ कि छैन भन्ने विषयमा गम्भीर प्रश्न उठिरहेका छन्।