तीन दशकयताकै भीषण गोलीकाण्ड: सिड्नीमा यहूदी समुदाय शोकमा

तु खबर संवाददाता
२०८२ पुष २, बुधबार १०:०३

काठमाडौँ ।अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भीषण सामूहिक गोलीकाण्डमा ज्यान गुमाएका १५ जनामध्ये केहीको अन्त्येष्टि बुधबारबाट सुरु भएको छ। सिड्नीमा शोक मनाउनेहरूको ठूलो भीड भेला भएको छ भने बोन्डी क्षेत्रमा भावनात्मक दृश्य देखिएका छन्।आइतबार हनुक्काको पहिलो रात मनाइरहेका यहूदी परिवारहरूलाई लक्षित गरी भएको आक्रमणमा मारिएका रब्बी एली स्लान्जरको अन्त्येष्टि सेवा अघि सिड्नीको चाबाड अफ बोन्डी बाहिर हजारौंले श्रद्धाञ्जली अर्पण गरेका

४१ वर्षीय स्लान्जर ‘बोन्डी रब्बी’का रूपमा परिचित थिए। उनले बोन्डी बीचमा ‘चानुकाह बाइ द सी’ कार्यक्रम आयोजना गर्दै आएका थिए र चाबाड अफ बोन्डीमा सहायक रब्बीका रूपमा सेवा गरेका थिए। पाँच सन्तानका पिता स्लान्जरका कान्छा छोरा मात्र दुई महिनाका छन्। चाबाड संस्थाले उनलाई समुदायमा यहूदी जीवन प्रवर्द्धन गर्न अथक प्रयास गर्ने समर्पित धर्मगुरुका रूपमा स्मरण गरेको छ।आक्रमण भएको विश्वप्रसिद्ध बोन्डी बीच नजिकैको बोन्डी प्याभिलियनमा पनि स्थानीयवासीहरूले फूल चढाउँदै र मैनबत्ती बाल्दै निरन्तर शोक व्यक्त गरिरहेका छन्। यहूदी क्यालेन्डरका सबैभन्दा उत्सवपूर्ण दिनमध्ये एकमा भएको अन्धाधुन्ध गोलीबारीमा १० वर्षीया बालिकादेखि होलोकास्टबाट बाँचेका वृद्धसम्मको ज्यान गएको छ।

अष्ट्रेलियाली अधिकारीहरूका अनुसार आक्रमणकारीहरू बुबा-छोरा थिए र उनीहरू ‘इस्लामिक स्टेट’ विचारधाराबाट प्रेरित रहेको आशंका गरिएको छ। कान्छो संदिग्ध नवीद अक्रम गम्भीर घाइते अवस्थामा मंगलबार कोमाबाट ब्यूँझिएको छ। न्यु साउथ वेल्स प्रहरी आयुक्त माल लान्योनले उनलाई अभियोग लगाउन पर्याप्त स्वास्थ्य अवस्था पर्खिरहेको बताए।प्रधानमन्त्री एन्थोनी अल्बानीजले स्लान्जर समुदायमा अत्यन्त प्रिय व्यक्ति रहेको उल्लेख गर्दै पीडित परिवारहरूप्रति राष्ट्रको सहानुभूति व्यक्त गरे। उनले समाजबाट यहूदी–विरोधी भावना उन्मूलन गर्न कानून संशोधन गर्न सरकार तयार रहेको पनि बताए।

गोलीकाण्डमा २१ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। घाइतेमध्ये प्रोबेशनरी कन्स्टेबल ज्याक हिबर्ट पनि छन्, जसले आक्रमणका क्रममा साहसपूर्वक अरूलाई बचाउने प्रयास गर्दा टाउको र काँधमा गोली लागेर एउटा आँखाको दृष्टि गुमाएका छन्।यस आक्रमणले अष्ट्रेलियामा पछिल्लो समय बढ्दै गएको यहूदी–विरोधी गतिविधिप्रति गम्भीर चिन्ता थपेको छ। यहूदी समुदायका नेताहरूले घृणाजन्य हिंसा रोक्न सरकारसँग कडा कदम चाल्न पुनः आग्रह गरेका छन्।