हादीको हत्यापछि बंगलादेशमाको अन्तरिम सरकार घेराबन्दीमा

तु खबर संवाददाता
२०८२ पुष ९, बुधबार १०:५६

काठमाडौँ ।प्रख्यात बंगलादेशी विद्यार्थी नेता तथा इन्किलाब मोन्चो का संयोजक शरीफ उस्मान हादीको गोली हानी हत्या गरिएको घटनाले बंगलादेशमा गहिरो राजनीतिक संकट उत्पन्न भएको छ। यस महिनाको सुरुमा ढाकास्थित एक मस्जिदबाट बाहिर निस्कने क्रममा गोली लागेका हादीको केही दिनपछि सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो।हत्यापछि हादीका भाइ शरीफ ओमर हादीले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले सत्तामा रहेका शक्तिहरूले आगामी राष्ट्रिय चुनावलाई पटरीबाट उतार्ने उद्देश्यले योजनाबद्ध रूपमा हत्याको घटना गराएको दाबी गरेका छन्।

ढाकाको शाहबागस्थित राष्ट्रिय संग्रहालय अगाडि इन्किलाब मोन्चोले आयोजना गरेको ‘शहीदी शपथ’ कार्यक्रममा सम्बोधन गर्दै ओमर हादीले सरकारभित्रकै एक समूहले चुनाव विफल पार्न यो हत्या गराएको आरोप लगाए। उनले हत्याराहरूलाई छिटोभन्दा छिटो कारबाही नगरे शेख हसिनाले भोगेको जस्तै भाग्य अन्तरिम सरकारले पनि भोग्नुपर्ने चेतावनी दिएका छन्।बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार ओमर हादीले भने, “उस्मान हादीलाई न्याय नदिइएमा तपाईंहरू पनि एक दिन देश छोड्न बाध्य हुनुहुनेछ।” उनले सरकारमाथि हत्यासम्बन्धी अनुसन्धानमा कुनै ठोस प्रगति नदेखाएको आरोप समेत लगाए।शरीफ उस्मान हादी सन् २०२४ मा भएको विद्यार्थी नेतृत्वको विद्रोहका प्रमुख आवाजमध्ये एक थिए। सोही आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट २०२४ मा राजीनामा दिई भारतमा निर्वासन रोजेकी थिइन्। हादी कुनै पनि ‘विदेशी एजेन्सी वा मालिकहरू’ सामु नझुकेको कारण उनको हत्या गरिएको दाबी उनका भाइले गरेका छन्।

हादीको मृत्युको खबर सार्वजनिक भएपछि डिसेम्बर १८ मा बंगलादेशभर व्यापक प्रदर्शन चर्कियो। सयौं प्रदर्शनकारी सडकमा उत्रिए, तोडफोड र आगजनीका घटनाहरू भए, केही मिडिया कार्यालयहरू समेत जलाइए।यही आक्रोशका बीच एक दर्दनाक घटना पनि घट्यो। ढाका–मयमनसिंह राजमार्ग नजिक जमिरदिया दुबालियापारा क्षेत्रमा भीडले एक हिन्दू कामदार दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गर्‍यो। उनको शवलाई रूखमा बाँधेर आगो लगाइएको थियो।शरीफ उस्मान हादीको हत्या, त्यसपछिको जनआक्रोश र हिंसात्मक घटनाक्रमले बंगलादेशको राजनीतिक स्थिरता र आगामी निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।