चुनावी वातावरणबारे प्रधानमन्त्री कार्की र तीन दलबीच संवाद सुरु

तु खबर संवाददाता
२०८२ पुष १२, शनिबार १६:००

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन आवश्यक राजनीतिक सहमति र शान्ति–सुरक्षाको अवस्था बारे छलफल केन्द्रित रहेको जनाइएको छ। निर्वाचनको वातावरण तयार नभएको भन्दै दलहरूले आशंका व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले स्वयं अग्रसरता लिएर शीर्ष नेताहरूसँग संवाद थालेकी हुन्।

यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतल निवासमा प्रारम्भिक वार्ता भएको थियो। त्यसैको निरन्तरतास्वरूप आज बालुवाटारमा पुनः छलफल आयोजना गरिएको हो।

बालुवाटार बैठकका लागि सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले तीनै दलका शीर्ष नेताहरूको निवासमै पुगेर निमन्त्रणा दिएका थिए। शुक्रबार उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न आग्रहसमेत गरेका थिए।

यो बैठक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि विशेष अर्थ राख्ने मानिएको छ। जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री पदबाट अपदस्त भई २४ भदौमा बालुवाटारबाट राजीनामा दिएपछि ओली पहिलोपटक आज प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन्। आन्दोलन चर्किएका बेला उनी नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए।

हाल बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ।