कांग्रेस केन्द्रीय कार्यालयको सरकारी टोलीद्वारा अनुगमन

तु खबर संवाददाता
२०८२ पुष ८, मंगलवार १२:५७

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित कांग्रेस कार्यालय पुगेर क्षतिको अवलोकन गर्नुका साथै पार्टी नेताहरूसँग छलफल गरेको हो।

संवाद समितिमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए। टोलीले आगजनीबाट भएको क्षति अवलोकन गर्दै आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा कांग्रेस नेतृत्वसँग संवाद गरेको जनाएको छ।

छलफलमा कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेताहरू सहभागी थिए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो।

सरकारी टोलीले आजै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) का केन्द्रीय कार्यालयसमेत अनुगमन गर्ने कार्यक्रम रहेको छ।