जाँचबुझ आयोगद्वारा सशस्त्र प्रहरी प्रमुख अर्यालसँग बयान

तु खबर संवाददाता
२०८२ मंसिर २३, मंगलवार १२:२२

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंशबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको बयान लिन सुरु गर्दैछ। यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग लिएको बयान सकिएको छ।

आयोगसम्वद्ध स्रोतका अनुसार, अर्यालको बयान सकेपछि नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी गरिएको छ। जेनजी आन्दोलनका बेला अर्याल सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए। आयोगले उनलाई भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भमा बयानका लागि बोलाएको हो।

आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले मंगलबार अर्याललाई बयानका लागि बोलाइएको जानकारी दिए। आजदेखि उहाँको बयान लिइनेछ,’शर्माले बताए।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, डीआईजी सुरेश श्रेष्ठसँग बयान लिइसकेको छ। अर्यालको बयानपछि नेपाल प्रहरीका आईजी कार्की र पूर्व आईजी चन्द्रकुवेर खापुङसँग पनि बयान लिने तयारी गरिएको आयोगका एक पदाधिकारीले बताएका छन्।

दानबहादुर कार्की जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन्। भदौ २३ गते बेलुकी मन्त्रिपरिषद्को निर्णयपछि भोलिपल्ट बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीका आधारमा बयान लिने तयारी गरेको हो।

आयोगले यसअघि राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपी अपिल बोहरा र कुलदीप चन्दलगायतसँग बयान लिइसकेको छ। हालसम्म करिब १५० जनासँग सोधपुछ तथा बयान लिइएको आयोगका सदस्यले बताएका छन्।

जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी गरिरहेको छ। ती बयान अन्तिम चरणमा लिइने आयोगको तयारी छ।

यसैबीच, आयोगलाई तोकिएको समयावधि सकिन मात्रै केही दिन बाँकी रहँदा बयान थप विवरण सङ्कलन र प्रतिवेदन लेखनको काम पूरा नभएकाले समयावधि थप गर्नुपर्ने अवस्था आएको आयोगसम्वद्ध स्रोतले जनाएको छ।