रास्वपा र विवेकशील साझा पार्टी एकता घोषणा, सहमतिपत्रमा हस्ताक्षर

तु खबर संवाददाता
२०८२ मंसिर १४, आईतवार १६:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ। आइतबार राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुई दलबीच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया सार्वजनिक गरिएको हो।

रास्वपातर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र नेता डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरे भने विवेकशील साझा पार्टीतर्फ अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले सहमतिपत्रमा हस्ताक्षर गरेका छन।

यसअघि नै दुवै पार्टीले कार्यदल गठन गरी एकताका एजेन्डाहरूमा विस्तृत छलफल गरेका थिए। विवेकशील साझाले केन्द्रीय समिति बैठकबाट प्रस्ताव अनुमोदन गरेर एकताप्रति आफ्नो सहमति औपचारिक रूपमा व्यक्त गरेको थियो।

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच केही दिनअघि नै आधारभूत सहमति बनेको थियो। पाँच बुँदामा तयार भएको सहमतिपत्रअनुसार वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा तथा विवेकशील अभियानको ऐतिहासिक योगदानलाई दस्तावेजीकरण गरी औपचारिक मान्यता दिने व्यवस्था गरिएको छ।

एकता पश्चात् दलको नाम र चुनाव चिह्न रास्वपाकै रहने सहमति भएको छ। तर विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सामेल नहुने बताएका छन्।

कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताहरूले एकतालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका छन्।