मतदातासँग प्रत्यक्ष करार गर्ने नयाँ अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्रको सट्टा ‘नागरिक करार’ सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा विजयी भएको खण्डमा आगामी पाँच वर्षमा गर्ने ठोस कामहरू उल्लेख गर्दै पार्टीले मतदातासँग प्रत्यक्ष करार गर्ने नयाँ अभ्यास अघि सारेको हो ।
करारपत्रमा उल्लेखित कामहरू पूरा नभए आगामी निर्वाचनमा राजनीतिक रूपमा सजाय दिई असुल उपर गर्न मतदातासँग आग्रह गरिएको छ । ‘पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्छौँ,’ भन्दै पार्टीले परिणाममुखी राजनीतिमा जोड दिएको छ ।रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना र पारदर्शी शासनप्रति प्रतिबद्धता जनाएको छ । करारपत्रमा पाँच मुख्य प्राथमिकता तय गरिएका छन् ।
पहिलो प्राथमिकतामा सदाचार र असल शासन राखिएको छ । यस अन्तर्गत भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने, २०४६ सालदेखिकै सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र सरकारी सेवाको सर्वव्यापी डिजिटल डेलिभरी विस्तार गर्ने उल्लेख छ । २०८६ सम्म अन्तर्राष्ट्रिय भ्रष्टाचार सूचकांकमा उल्लेख्य सुधार गर्ने लक्ष्य पनि राखिएको छ ।दोस्रो प्राथमिकता मध्यम वर्गीय विस्तार हो । औसत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डलरभन्दा माथि पुर्याउने, कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० अर्ब डलर नाघ्ने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’को ग्यारेन्टी गर्ने प्रतिवद्धता करारपत्रमा छ ।
तेस्रोमा रोजगारी सिर्जना अन्तर्गत १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । आइटी, निर्माण, पर्यटन, कृषि, उद्योग, खनिज र सेवा क्षेत्रमा रोजगारी विस्तार गर्ने योजना उल्लेख गरिएको छ ।चौथो प्राथमिकता कनेक्टिभिटी हो । गुणस्तरीय सडक र हवाई सञ्जाल विस्तार, सुलभ इन्टरनेट पहुँच, १५ हजार मेगावाट विद्युत् जडित क्षमता, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण तथा १० वटा राष्ट्रिय महत्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
पाँचौँ प्राथमिकतामा विदेशमा रहेका नेपालीलाई अनलाइन मतदानको व्यवस्था, सुरक्षित लगानीको वातावरण, सम्मानित देश फिर्ती तथा मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्ने उल्लेख छ । वंशजको नागरिकताको निरन्तरता र सार्वभौम डायस्पोरा फण्ड कार्यान्वयन गर्ने प्रतिबद्धता पनि करारपत्रमा समेटिएको छ ।करारपत्र सार्वजनिक गर्दै पार्टी सभापति रवि लामिछाने ले सामाजिक सञ्जालमार्फत ‘राजनीतिक विश्वासको ऋण’ का रूपमा नागरिकसँग करार गरिएको बताएका छन् । करारपत्रमा ‘ऋणीको दस्तखत’ शीर्षकअन्तर्गत औँठाछापजस्तो चिन्ह राखिएको छ, जुन अक्षरहरूलाई मसिना बनाएर बनाइएको प्रतीकात्मक स्वरूप हो ।
रास्वपाका अनुसार यो करारपत्र देशभरका उम्मेदवारहरूलाई वितरण गरिनेछ । उम्मेदवारहरूले स्थानीय मुद्दा समेटेर छुट्टै करारपत्र पनि गर्नुपर्ने व्यवस्था गरिएको छ । करारपत्रबारे विस्तृत विवरण फागुन ७ गते सार्वजनिक गरिने पार्टीले जनाएको छ ।

