समानुपातिकतर्फ रास्वपाको ऐतिहासिक अग्रता, चार दलले गरे थ्रेसहोल्ड पार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाले झण्डै आधा मत प्राप्त गर्दै अन्य परम्परागत दलहरूलाई निकै पछाडि पारेको छ।
हालसम्म करिब ८३ लाखभन्दा बढी मत गणना सकिँदा रास्वपाले ४० लाखभन्दा बढी मत प्राप्त गरेको छ, जुन कुल गणना गरिएको मतको करिब ४८ प्रतिशत हो। नेपाली कांग्रेस १३ लाखभन्दा बढी मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) करिब ११ लाखभन्दा बढी मतसहित तेस्रो स्थानमा छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ५ लाखभन्दा बढी मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पार गरिसकेका छन्। संविधानअनुसार समानुपातिकतर्फ सिट प्राप्त गर्न कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत आवश्यक पर्छ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पनि थ्रेसहोल्ड पार गर्ने नजिक पुगेको छ। मध्याह्नसम्मको गणनाअनुसार श्रम संस्कृतिले करिब ३ लाख मत प्राप्त गर्दै करिब ३.५० प्रतिशत मत हासिल गरेको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत आवश्यक पर्ने व्यवस्था छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयं सुनसरी–१ बाट निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई पनि उक्त पार्टीबाटै विजयी भएका छन्।
प्रतिनिधिसभामा कुल २७५ सदस्य रहने व्यवस्था छ, जसमा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीबाट चयन गरिन्छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त मतका आधारमा आयोगले सिट संख्या निर्धारण गर्नेछ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ९ लाखभन्दा बढी मत खसेको थियो। कुल सदर मतको करिब ३ प्रतिशत कटाउनुपर्ने भएकाले राष्ट्रिय दल बन्नका लागि करिब ३ लाखभन्दा बढी मत आवश्यक पर्ने अनुमान गरिएको छ। यही हिसाबमा श्रम संस्कृति पार्टीलाई थ्रेसहोल्ड पार गर्न अब केही हजार मत मात्रै आवश्यक रहेको बताइएको छ।
मतगणना अझै केही जिल्लामा बाँकी रहेकाले श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना बलियो देखिएको छ। संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा, धनुषालगायत केही क्षेत्रमा मतगणना बाँकी छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना फागुन २७ गते बिहानसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यसपछि थ्रेसहोल्ड पार गरेका दलहरूलाई प्राप्त मतका आधारमा सिट बाँडफाँट गरी समावेशी क्लस्टरअनुसार बन्दसूचीबाट सांसदको नाम सिफारिस गर्न पत्राचार गरिनेछ।
दलहरूले बन्दसूचीबाट नाम पठाएपछि समावेशी मापदण्डअनुसार रुजु गरी आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्नेछ। आयोगले यी सबै प्रक्रिया आगामी चैत ५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।
