ओलीको भ्यूटावरदेखि स्मार्ट सिटीसम्म : झापा–५ मा बालेन शाहको चुनावी एजेन्डा

तु खबर संवाददाता
२०८२ फाल्गुन ११, सोमबार १३:५४
file-photo

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । बाचापत्रमा उनले दमक सभागृह र केपी शर्मा ओलीको पहलमा निर्माण गरिएको भ्यूटावर लगायतका योजनालाई उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । करोडौं लगानी भएर पनि लामो समय सञ्चालनमा नआएको भ्यूटावर ओलीमाथि आलोचनाको विषय बन्दै आएको सन्दर्भमा बालेनको यो प्रतिबद्धतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बालेनले संविधानको परिपालना गर्दै संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनमार्फत सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउने संकल्प व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, राजनीतिलाई पेशा नभई सेवा बनाउने र जनताको विश्वासलाई काममा रूपान्तरण गर्ने उनको मुख्य दाबी छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई उनले प्रमुख प्राथमिकतामा राखेका छन् ।

केन्द्रीय रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको घोषणापत्रभन्दा फरक रूपमा बालेनले प्रदेश संरचनालाई सशक्त बनाउने स्पष्ट धारणा अघि सारेका छन् । स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा पाँच वर्षभित्र ठोस काम सम्पन्न गर्ने उनको प्रतिबद्धता छ । यसले उनी आफूलाई संघीयताको पक्षधरका रूपमा स्थापित गर्न खोजेको देखिन्छ ।

सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि बालेनले १०० दिनमा अधिकार सम्पन्न आयोग गठन गर्ने र १ हजार दिनभित्र न्यायोचित तथा दिगो समाधान गर्ने दाबी गरेका छन् । यसअघि सुकुम्वासी बस्तीमा डोजर चलाएको आरोप खेप्दै आएका बालेनले यही विषयलाई लिएर स्पष्ट समयसीमासहितको योजना अघि सारेका हुन् ।

शिक्षा क्षेत्रमा गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउने व्यवस्था सुनिश्चित गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । काठमाडौं महानगरपालिका मा लागू गरिएको ‘शिक्षामा सीप’ कार्यक्रम झापामा पनि कार्यान्वयन गरी विद्यार्थीको विदेश पलायन न्यूनीकरण गर्ने उल्लेख छ ।

स्वास्थ्यतर्फ दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गर्ने, ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने र विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी गर्ने प्रतिबद्धता गरिएको छ । कृषि क्षेत्रमा कन्काई-रतुवा सिँचाइ योजना विस्तार, ‘एक पालिका एक शीत भण्डार’ अवधारणा, श्रम बैंक, कृषि भण्डारण केन्द्र र कृषि अनुसन्धान हव स्थापना गर्ने योजना अघि सारिएको छ ।

पूर्वाधार र अर्थतन्त्रतर्फ दमक-रवि-चिसापानी सडक, हुलाकी सडक तथा पुलहरूको समयमै निर्माण, दमकलाई ‘आईटी हव’ र ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्ने लक्ष्य बाचापत्रमा समेटिएको छ । वैदेशिक रोजगारीलाई यथार्थपरक रूपमा स्वीकार्दै विदेशबाट फर्केकाहरूका लागि उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन् । अन्त्यमा, बालेनले झापा-५ का जनताको आवाज संसदमा निरन्तर उठाउने र जनअपेक्षा अनुरूप काम गर्न अवसर दिन मतदातासँग अपील गरेका छन् ।