लामो विवाद अन्त्यतिर, एनआरएनए एकताबद्ध हुँदै

तु खबर संवाददाता
२०८२ मंसिर १२, शुक्रबार १२:०७

काठमाडौँ । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तत : एकताबद्ध हुने दिशामा अघि बढेको छ। लामो समयदेखि महेशकुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका दुई फरक समितिहरू सञ्चालन भइरहेका अवस्थामा दुवै पक्षले १० बुँदे सहमति गर्दै एउटै संस्थाका रूपमा अगाडि बढ्न सहमति जनाएका छन्। आगामी आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको औपचारिक घोषणा गरिने एनआरएनएका एक केन्द्रीय नेताले बताएका छन्। सहमति पत्र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको हो जसमा २०२३ को अक्टोबरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्वको कार्यसमिति र २०२५ मे महिनामा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको समितिलाई समान रूपमा मान्यता दिइएको छ।

सहमति अनुसार १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन २०२६ अप्रिल १७ भित्र सम्पन्न गरिनेछ। महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ, जसका सदस्यहरूले आगामी महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था छ। एकतापछि संघ महेशकुमार श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ भने बद्री केसी नेतृत्वका विगतका सबै कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रूपमा अभिलेखीकरण गरिने उल्लेख छ। विगतमा दायर गरिएका सबै आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने, आर्थिक पाटो पारदर्शी बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने र विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वयमा समाधान गर्ने सहमति पनि समावेश छ।

२०७८ सालदेखि सुरू भएको नेतृत्व विवादका कारण एनआरएनएमा दुई छुट्टाछुट्टै समूह सक्रिय रहँदै आएको थियो। सर्वोच्च अदालतका आदेश, परराष्ट्र मन्त्रालयका निर्देशन र नेतृत्वबीचको टकरावले संस्थामा लामो समय अस्थिरता ल्याएको थियो। शेष घलेले सुरू गरेको एकता अभियानलाई निरन्तरता दिँदै अन्ततः दुवै पक्ष एकै ठाउँमा आउन सहमत बनेका हुन्। बद्री केसीले विभाजनका कारण गैरआवासीय नेपालीहरूको एजेन्डा ओझेलमा परेको बताउँदै अब एकताले नागरिकता, लगानी र नीतिगत एजेन्डा प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गरे। महेशकुमार श्रेष्ठले सबैको अपनत्व रहने ‘साझा एनआरएनए बन्ने चरण आएको बताए।

आइतबार हुने औपचारिक घोषणापछि एनआरएनए एकीकृत रूपमा अघि बढ्नेछ। यसले विश्वभर रहेका आठ लाखभन्दा बढी नेपालीहरूको हित संरक्षण, मातृभूमिसँगको सम्बन्ध सुदृढीकरण र विकासका एजेन्डामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। लामो समयको प्रयत्नपछि एकता सम्भव बनेको र अब एनआरएनएको नयाँ अध्याय सुरू हुने विश्वास नेताहरूले व्यक्त गरेका छन्।