काठमाडौंमा १० कम्युनिस्ट घटकहरूको एकता राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को अग्रसरतामा १० वटा कम्युनिस्ट घटकहरू एकीकृत हुँदै एकीकृत पार्टीको घोषणा गर्न लागेका हुन्।
सम्मेलनको औपचारिक शुरुवात माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित सबै घटकका शीर्ष नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका हुन्।
एकता प्रक्रियामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी, प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायतका घटकहरू सहभागी छन्।
नेता वर्षमान पुनका अनुसार सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटीको गठन तथा निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णयहरू एजेन्डा रूपमा तय गरिएको छ। सम्मेलनमा शीर्ष नेताहरूले एकपछि अर्को रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
