चार नयाँ मन्त्री थपिँदै, आजै शपथग्रहण हुने

तु खबर संवाददाता
२०८२ कार्तिक ९, आईतवार १०:३४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री थपिने भएका छन्। मन्त्रिपरिषद् विस्तारका लागि डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम टुंगो लागेसँगै आजै शपथ ग्रहणको तयारी गरिएको छ। प्रधानमन्त्री कार्कीले उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले सम्हाल्ने तय भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गणपतिलाल श्रेष्ठलाई दिइने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले पाउने छन् भने युवा तथा खेलकुद मन्त्रालय बब्लु गुप्ताले सम्हाल्नेछन्। गुप्ता परोपकारी संस्था ‘१०० ग्रुप’ का संस्थापक समेत हुन्।

चारै मन्त्रीको शपथग्रहण कार्यक्रम आजै बालुवाटारमा आयोजना हुने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। मन्त्रीहरू शपथ लिएपछि कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुने छ। हालसम्म मन्त्रिमण्डलमा ८ सदस्य रहेका छन्।