सरकारले राजनीतिक दललाई सडक प्रदर्शन नगरी संवादमा आउन आग्रह

तु खबर संवाददाता
२०८२ कार्तिक ८, शनिबार १५:४५

काठमाडौं । सरकारले सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना मागहरू राख्न आग्रह गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरू सहभागी रहको झण्डै दुई घण्टा लामो बैठकपछि यस्तो अपिल गरिएको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, आगामी निर्वाचनको सुरक्षा व्यवस्था र शान्ति–सुरक्षासम्बन्धी विषयमा केन्द्रित छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारी समूहलाई सडक प्रदर्शन छोडी संवादको माध्यम अपनाउन आग्रह गरेका छन् । उनले सरकार सदैव संवादका लागि तयार रहेको स्पष्ट पार्दै राजनीतिक मागहरूलाई शान्तिपूर्ण र जिम्मेवार तरिकाले सम्बोधन गर्न सकिने बताए ।

गृहमन्त्री अर्यालले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहोस् भन्नेमा प्रदर्शनकारीहरूलाई सचेत रहन आग्रह गरे । उनले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, हिंसात्मक गतिविधि गर्ने जस्ता कार्य अस्वीकार्य हुने स्पष्ट पारे । “सरकार हिंसा चाहँदैन, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगोस् भन्ने हाम्रो उद्देश्य होइन,” उनले भने, “अहिंसात्मक र जिम्मेवार राजनीतिक संस्कार नै सही बाटो हो।”

उनका अनुसार अब सडकमा नगई पनि संवादमार्फत समस्या समाधान गर्न सकिने अवस्थामा देश पुगेको छ । “राजनीतिक मागहरू सरकार संवादको माध्यमबाट सुन्नेछ,” मन्त्री अर्यालले भने, “अब सबै संवादमा संलग्न हुनुपर्छ, सडकमा जाने आवश्यकता छैन।” उनले आन्दोलनरत समूहहरूलाई संयमित रहँदै लोकतान्त्रिक मूल्य र संस्कारअनुसार आफ्नो धारणा प्रस्तुत गर्न आग्रह गरे ।